बारा प्रहरीद्वारा लागूऔषध गाँजा र अफिमसहित दुई जना पक्राउ

सिमराः बारा प्रहरीले बुधबार दिउँसो लागूऔषध गाँजा र अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्जबाट प्रहरीले सात किलो गाँजा र चार किलो अफिमसहित दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा निजगढ नगरपालिका १३ डमरपुर का २२ वर्षीय संजय मोक्तान र धादिङ गजुरी गाउँपालिका ३ का २९ वर्षीय सुनबहादुर थिङ रहेका बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।
विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा रहेको प्रहरी टोलीले हेटौडाबाट वीरगन्ज तर्फ आउँदै गरेको प्र.३-०२-००७ प ८२३९ नम्बरको मोटरसाइकल जाँच गर्दा प्लाष्टिकको झोलामा र सिट मुनी लुकाएर राखेको अवस्थामा लागूऔषध बरामद गरेको हो ।
पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।