चितवनलाई स्तब्ध पार्दै बाग्मती अन्तिम आठमा प्रवेश


eShilalekh

११ चैत्र २०७८, शुक्रबार २२:१३

सिमरा:  भरतपुर फूटवल क्लब (बिएफसी) चितवनलाई स्तब्ध पार्दै सर्लाहीको बाग्मती युवा क्लब सिमरामा जारी जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको अन्तिम आठमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार भएको खेलमा चितवनमाथी २-१ को जित निकाल्दै बाग्मतीले अन्तिम आठको यात्रा तय गरेको हो ।

राजर्षि जनक कपको आयोजक समेत रहेको बाग्मतीको जितमा दिनेश चाम्लिङ राई र प्रदीप लम्सालले समान एक/एक गोल गरे । चितवनका लागि भने रोशन क्षेत्रीले गोल गरेका थिए ।

खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा चितवनले बाग्मतीलाई नतिजा सुम्पन बाध्य भयो खेलको १५औं मिनेटमा चितवनका रोशन क्षेत्रीले आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । वन भर्सेस वनको स्थितीमा गोल गर्दै क्षेत्रीले टिमलाई दिलाएको अग्रता धेरै बेर टिक्न सकेन् ।

खेलको २३औं मिनेटमा बाग्मतीले बराबरी गोल फर्कायो । बाग्मतीका दिनेश चाम्लिङ राईले डिबक्स भित्रबाट सानदार गोल गरे । चितवनका गोलरक्षक दिनेशको प्रहार नियन्त्रणमा लिन असफल देखिए । उनको उत्कृष्ट गोलसंगै खेलमा फर्किएको बाग्मतीले पहिलो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।

चितवनलाई दवावमा राखेको बाग्मतीले पहिलो हाफमा अन्य केही अवसर गुमाएको थियो । पहिलो हाफमा लयमा देखिएपनि बराबरी गोलपछि बाग्मतीको फिनिसिङ पक्ष चल्न सकेन् । अग्रता जोगाउन नसकेको चितवन भने दवावमा देखियो । बाग्मतीविरुद्ध उत्कृष्ट सुरुवात गरेपनि पहिलो हाफको अन्तिम समयमा चितवन तालमेलको खोजिमा देखिन्थ्यो ।

मोफसलका दुई टिमबीचको प्रतिस्पर्धात्मक भिडन्त दोस्रो हाफमा पनि देखियो । फ्लड लाईटमा भएको खेलमा दुबै टिमले दोस्रो हाफमा आक्रामक सुरुवात गरे । चितवन पनि दोस्रो हाफमा लयमा देखियो । दुबै टिमले दोस्रो हाफमा अवसर बनाए तर सफल हुन सकेनन् ।

खेलको ६५औ मिनेटमा चितवनका जोहनले गोल गर्ने अवसर खेर फाले । उनको प्रहारले पोष्टको दिशा लिन सकेन् । चितवनले अवसर खेर फालिरहदा बाग्मती पनि उस्तै लयमा देखियो । बाग्मतीको फिनिसि» पक्ष भने सफल हुन सकेका थिएनन् ।

प्रतिस्पर्धा भिडन्तमा संघर्षपूर्ण जित हात पार्ने क्रममा बाग्मतीले खेलको ८१औं मिनेटमा गोल गरेको थियो । प्रदीप लम्सालले डिबक्स बाहिरबाट प्रहार गर्दै टिमका लागि निर्णायक गोल गरेका थिए । अपेक्षा गरिए भन्दा बढी दर्शकको मन जितेको दुवै टिमको खेल अन्तिम समयमा अझै प्रतिस्पर्धात्म बन्यो ।

दुवै टिमले अन्तिम पाँच मिनेटमा आक्रामक खेल खेले । तर स्कोर गर्न नसक्दा नजिता बाग्मतीको पक्षमा गएको थियो । खेलको खेलको म्यान अफ दि म्याच बाग्मतीका दिनेश चाम्लिङ राई घोषित भए । उनले ट्रफीसहित पाँच हजार हात पारे ।

प्रतियोगिता अन्तर्गत शनिवार न्युरोड टिम (एनआरटी) र विजय युथ क्लब हेटौडाबीच खेल हुनेछ । नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ । प्रतियोगिता चैत्र १९ गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्