सर्लाहीमा दुईपक्षबीच झडप हुँदा १३ जना घाइते

सर्लाहीः सर्लाहीको बलरा नगरपालिका १० सुदामा टोलमा शुक्रबार साँझ दुई पक्षबीच पुरानो रिसिइबीका कारण भएको झडपमा १३ जना घाइते भएका छन् ।
झडप सुवोध पासवान र भोला पासवान पक्षबीच भएको हो । उत्पन्न विवादले उग्ररुप लिँदा झडपमा दुवै पक्षका व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।
सुवोध पासवान पक्षबाट ७० वर्षीय सुबोध पासवान, १५ वर्षीय शिवसागर पासवान, ४७ वर्षीय दिनेश पासवान, ३० वर्षीय हरेन्द्र पासवान, ७५ वर्षीय लखचन पासवान र १८ वर्षीय अंगद पासवान घाइते भएका छन् । उनीहरूको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
यता भोला पासवान पक्षबाट ७० वर्षीय सन्तलाल हजारी, उनका छोरा रुपेश पासवान, भिनाजु भारतीय नागरिक वीरेन्द्र पासवान, साथै महिलाहरू निकी पासवान, कामनी देवी र पूजा देवीसहित सात जना घाइते भएका छन् । ती घाइतेहरूको जनकपुरमा उपचार भइरहेको छ ।
झडपका क्रममा धेरैजनालाई टाउको र खुट्टामा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी सरोज राईले जानकारी दिए ।
घटनाको कारण र जिम्मेवार पक्षको पहिचानका लागि थप अनुसन्धान जारी रहेको र घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी स्रोतले जनाएको छ ।