पर्साविरुद्ध बारा ११२ रनले बिजयी

सिमराः तेस्रो जनकपुरधाम मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा जिल्ला क्रिकेट संघ बारा बिजयी भएको छ । प्रतियोगितामा आफ्नो पहिलो खेल खेलेको बाराले पर्साविरुद्ध एक सय १२ रनको जित हात पारेको हो ।
जनकपुरधामस्थित रामजानकी बहुउदेश्यीय खेल मैदानमा टस जितेर ब्याटिङ गरेको बाराले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ७४ रन जोडेको थियो । बाराका लागि विवेक यादवले सर्वाधिक ६३ रन बनाएका थिए ।
पर्साका वशिम मन्सुरीको बलमा आउट हुनुअघि विवेकले ३० बल खेल्दै सात छक्का र तीन चौका प्रहार गरे । यसैगरी बाराका अरनिको यादवले २५, निखिल सिंहले १८, निरज यादवले १२ रन बनाए ।
नेपाल क्रिकेट संघले बैशाख २१ गते निलम्बन फुकुवा गरेपछि बाराबाट खेलेका अदिल अन्सारी भने शून्यमै पेभेलियन फर्किए । आदिल रञ्जित कुमारको बलमा बोल्ड हुन पुगेका थिए ।
बलिङतर्फ पर्साका रञ्जित कुमारले तीन विकेट लिए । चार ओभर बलिङ गरेका रञ्जितले ३० रन खर्चिदै बाराको तीन विकेट लिएका थिए । वशिम मन्सुरी र अनुज चौहानले समान दुई/दुई विकेट लिए ।
बाराले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको पर्सा निरिह बन्न पुग्यो । पर्साका दुई खेलाडीबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । पर्साका राजा मन्सुरीले १८ र सफवान अलीले ११ रन बनाए ।
बाराका लागि भुलावन सहनीले चार विकेट हात पारे । चार ओभर बलिङ गरेका सहनीले १९ रन खर्चिएर महत्वपूर्ण चार विकेट लिएका थिए । यसैगरी कप्तान पवन सर्राफले तीन र कमल गुप्ताले दुई विकेट लिए ।
बाराले अब अर्को खेल बैशाख ३१ गते दिल्लीसंग खेल्नेछ भने पर्साले मंगलबार दिल्लीको सामना गर्नेछ । जेठ २ गतेसम्म आयोजना हुने प्रतियोगितामा भारतका चार र मधेश प्रदेशको आठ जिल्ला गरी १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछ ।
जनकपुरधाम उपमहानगरपालिकाको आयोजना र जिल्ला क्रिकेट संघ धनुषाको समन्वयमा प्रतियोगिता आयोजना भएको हो ।