दिल्लीलाई पराजित गर्दै बारा जनकपुरधाम मेयर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश


eShilalekh

३१ बैशाख २०८२, बुधबार २०:२२

सिमराः विवेक यादव शतक प्रेरित बारा ‘जनकपुरधाम मेयर कप क्रिकेट प्रतियोगिता’ को सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको दिल्लीबाट आएको पाहुना टोलीलाई एक सय एक रनले पराजित गर्दै बारा सेमिफाइनलमा प्रवेश गरेको हो ।

जनकपुरधामस्थित रामजानकी बहुउदेश्यीय खेल मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको बाराले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै दुई सय १७ रन जोडेको थियो । बाराका लागि विवेक यादवले शतक प्रहार गरेका थिए ।

यादवले बिष्फोटक ब्याटिङ गर्दै ५३ बलमा एक सय चार रन बनाए । विवेक प्लेयर अफ दि म्याच घोषित भए । यसैगरी आदिल अंसारीले ३३, कप्तान पवन सर्राफले ३१, तृतराज दासले १९ र साहिल पटेलले १५ रन बनाए । दिल्लीका बलर आदित्य सिन्हाले चार विकेट लिँदा रोहित त्रिपाठी, वैभव मिश्र र राहुल द्धिवेदीले समान एक/एक विकेट लिए ।

बाराले प्रस्तुत गरेको दुई सय १८ रनको बिशाल लक्ष्य पछ्याउन मैदानमा उत्रिएको दिल्लीले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै एक सय १६ रन मात्र जोड्न सक्यो । दिल्लीका लागि विवश यादवले ५३ रन बनाए । यसैगरी राहुल द्धिवेदीले १२ र राज सहनीले ११ रन बनाउँदै अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

प्रतियोगितामा बाराको यो दोस्रो जित हो । यसअघि सोमबार भएको खेलमा बाराले छिमेकी जिल्ला पर्सालाई एक सय १२ रनले पराजित गरेको थियो । दुई जितका साथ बारा समूह ‘डी’ बाट सेमिफाइनलमा प्रवेश गरेको हो ।

बाराले अब फाइनल प्रवेशका लागि समूह ‘बी’ को विजेता भारतको मुजफ्फरपुरसंग बिहीवार खेल्नेछ । सर्लाही र सप्तरीविरुद्ध जित निकाल्दै मुजफ्फरपुर सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसैगरी अर्को सेमिफाइनल खेलमा महोत्तरी र लखनऊ भिड्नेछन् । महोत्तरी समूह ‘ए’ को विजेता हो भने लखनऊ समूह ‘सी’ को विजेता हो । महोत्तरी र लखनऊबीचको खेल पनि बिहीबार हुनेछ ।

दुवै सेमिफाइनलको विजेताले उपाधिका लागि प्रतिस्पर्धा शुक्रबार गर्नेछन् । जिल्ला क्रिकेट संघ धनुषाको समन्वय र जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा जारी प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा भारतको चार र मधेशको आठ गरी १२ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्