होली गार्डेन जीतपुरसिमरा अन्तरविद्यालय छात्रा फूटबलको फाइनलमा प्रवेश


eShilalekh

६ जेष्ठ २०८२, मंगलवार १०:५७

सिमराः होली गार्डेन इङ्लिस स्कुल जीतपुरसिमरा अन्तर माध्यमिक विद्यालय छात्रा फूटबलको फाइनलमा प्रवेश गरेको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलियालाई टाईब्रेकरमा ३–१ ले पराजित गर्दै पथलैयाको होली गार्डेन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

जीतपुरसिमरा १० स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको खेल मैदानमा मंगलबार बिहान भएको खेलमा दुबै टिमले गोलरहित बराबरी खेलेपछि नतिजा टाईब्रेकरबाट निकालिएको थियो । टाईब्रेकरमा होली गार्डेनकी कप्तान दीपशिखा लामा, रोजिता तामाङ र अनिशा मोक्तानले गोल गरे ।

बकुलियाका लागि सुनिमा थापामगरबाहेक अन्य खेलाडीले गोल गर्न सकेनन् । बकुलयाकी कप्तान किरण प्रतिज्ञा कुमारी र चाँदनी कुमारी रामको प्रहार होली गार्डेनकी गोलरक्षक लक्ष्मी पौडेलले बचाउ गरेकी थिईन् भने उषा चौधरीको प्रहार बाहिरिएको थियो ।

होली गार्डेनले अब उपाधिका लागि नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरासंग जेठ ८ गते प्रतिस्पर्धा गर्नेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा जारी प्रतियोगिताको यस माध्यमिक तह छात्रातर्फको समूहमा ६ विद्यालयको सहभागिता रहेको थियो ।

उपमहानगरपालिकाले माध्यमिक र आधारभूततर्फ छात्र तथा छात्राको छुट्टाछुट्टै समूह बनाएर प्रतियोगिता आयोजना गरेको हो । जीतपुरसिमरा १० स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय यस प्रतियोगिताको सचिवालय विद्यालयको रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्