मधेश प्रदेश क्रिकेट लिग सुरु, बारा र पर्साले गरे बिजयी सुरुवात


eShilalekh

६ जेष्ठ २०८२, मंगलवार २१:१४

सिमराः मधेश प्रदेश टी–२० क्रिकेट लिगमा बाराले बिजयी सुरुवात गरेको छ । कलैयास्थित सिद्धेश्वर खेल मैदानमा मंगलबार बिहान भएको पहिलो खेलमा बाराले सप्तरीमाथि सात विकेटको जित हात पारेको हो ।

बाराले सप्तरीमाथि सात विकेटको जित निकाल्दै गर्दा वीरगन्जको नारायणी रंगशालामा प्रतियोगिता अन्तर्गत भएको अर्को खेलमा पर्सा बिजयी भएको छ । पर्साले महोत्तरीलाई चार विकेटले पराजित गरेको हो ।

मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको सहयोगमा मधेश प्रदेश क्रिकेट संघले बारा र पर्साको दुई रंगशालामा खेल हुने गरी प्रतियोगिता सुरु भएको हो । पर्सामा भएको खेलको उद्घाटन मधेश प्रदेशका खेलकुद मन्त्री प्रमोद जयसवाल र बारामा भएको खेलको उद्घाटन कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले गरेका थिए ।

उद्घाटन समारोहमा मन्तव्य राख्दै खेलकुद मन्त्री प्रमोद जयसवाल ।

कलैयास्थित सिद्धेश्वर मैदानमा टस जितेर ब्याटिङ रोजेको सप्तरीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ४३ रन जोडेको थियो । सप्तरीका लागि अभिषेक कार्कीले ४३, रोहन विकले २८, विकास दासले २६, राहुल विकले २२ र भोला साहले १६ रन बनाए । बलिङतर्फ बाराका भुलावन सहनी र सिराज हवारीले ३/३ विकेट लिए भने कप्तान पवन सर्राफले दुई विकेट हात पारे ।

सप्तरीले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको बाराले १४.१ ओभरमा तीन विकेट गुमाउँदै जित हात पार्यो । बाराका लागि निरज यादवले ६५ रन बनाए । ३८ बलको सामना गरेका निरजले ६ चौका र दुई छक्का प्रहार गरे । बाराका लागि पवन सर्राफले ४१ र साहिल पटेलले २० रन बनाएका थिए । अर्धशतक प्रहार गरेका निरज खेलको प्लेयर अफ दि म्याच घोषित भए ।

यसैगरी वीरगन्जस्थित नारायणी रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको महोत्तरीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय दुई रन जोडेको थियो । महोत्तरीका लागि नविनकुमार यादवले २२, अभिषेक तिवारीले १८, महमद युसुफ आलमले १४ रन जोडे । बलिङतर्फ पर्साका चन्दन राम, सोनु कुशवाहा र संसाद अंसारीले समान २/२ विकेट हात पारे ।

रेफ्रीलाई बल हस्तान्तरण गर्दै मन्त्री प्रमोद जयसवाल । साथमा मधेश प्रदेश सदस्य सचिव शिवजी गुप्ता ।

महोत्तरीले दिएको एक सय तीन रनको लक्ष्य पछ्याएको पर्साले अन्तिम ओभरमा जित निकालेको थियो । पर्साले १९.२ ओभरमा ६ विकेट गुमाँउदै जित हात पारेको हो । पर्साका लागि सफवान अलिले ३१, रञ्जन यादवले २५ र सुरज प्रसाद कुर्मीले १० रन बनाए । पर्साका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यता बाराको सिद्धेश्वर खेलमा मंगलबार दिउँसो भएको दास्रो खेलमा धनुषाले सिरहामाथि सात विकेटको जित हात पारेको छ । टस जितेर ब्याटिङ रोजेको सिरहाले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै एक सय १३ रन बनाएको थियो ।

सिरहाका लागि राकेश कमैतले सर्वाधिक ४२ रन बनाउँदा कप्तान रुपेशकुमार सिंहले २६ र ओपनर अशोक यादवले १० रन मात्र बनाए । सिरहाका अन्य ब्याटर चल्न सकेनन् । बलिङतर्फ धनुषाका रामपुर यादवले तीन विकेट लिए भने कप्तान बिशाल सिस्लुङ र अखिलेश ठाकुरले २/२ विकेट हात पारे ।

रेफ्रीलाई बल हस्तान्तरण गर्दै कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह।

सिरहाले दिएको एक सय १४ रनको लक्ष्य धनुषाले १३.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । धनुषाका लागि ओपनर मयन यादवले ६० रन बनाए । मयनले ३५ बल खेल्दै सात चौका र चार छक्का प्रहार गरे । यसैगरी धनुषाका पुर्शराम यादवले १६, हिमांशु दत्तले ११ र साजन यादवले १० रन जोडे । बलिङतर्फ सिरहाका अफ्रुद्धिन राईनले दुई विकेट लिए ।

यसैगरी वीरगन्जको नारायणी रंगशालामा भएको अर्को खेलमा रौतहटले छिमेकी जिल्ला सर्लाहीलाई सात विकेटले हराएको छ । रौतहटविरुद्ध टस जितेर ब्याटिङ रोजेको सर्लाहीले २० ओभरमा ९ विकेट गुमाएर ८८ रन मात्र बनाउन सक्यो । सर्लाहीका लागि छैठौं नम्बरमा ब्याटिङ गर्न आएका बिशाल पटेलले मात्रै सम्मानजनक रन बनाए । उनिभन्दा अगाडि आएका ब्याटर क्रिजमा टिक्न सकेनन् ।

सर्लाहीले आफ्नो दुबै ओपनरलाई शून्यको स्थितिमा गुमाएको थियो । त्यसपछि आएका अन्य ब्याटरले पनि सम्हालेर खेल्न सकेनन् । सर्लाहीका अभय यादवले अविजित १४ रन बनाए । बलिङतर्फ रौतहटका राजेश यादवले तीन, रैयान आलमले दुई, आशिक बैठा र डब्लु मल्लिकले एक/एक विकेट हात पारे ।

मधेश प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव शिवजी गुप्ता।

सर्लाहीले दिएको ८९ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको रौतहटले १२.१ ओभरमै तीन विकेटको क्षतिमा जित निकाल्यो । रौतहटका रोहित सोनलले ३६ र अरविन्द चौधरीले ३१ रन बनाए । सर्लाहका अभय यादव र जितेश मण्डलले एक/एक विकेट लिए ।

प्रतियोगिता अन्तर्गत बुधबार कलैयामा दुई र वीरगन्जमा दुई खेल हुनेछन् । कलैयामा हुने पहिलो खेलमा सिरहा र सप्तरी भिड्नेछन् भने दोस्रो खेलमा बारा र धनुषाको प्रतिस्पर्धा हुनेछ । यसैगरी वीरगन्जमा हुने पहिलो खेलमा पर्सा र रौतहट भिड्नेछन् भने दोस्रो खेल महोत्तरी र सर्लाहीबीच हुनेछ ।

मधेश प्रदेशका आठ जिल्लाको सहभागिता रहेको प्रतियोगिता जेठ १५ गतेसम्म आयोजना हुने मधेश प्रदेश तेक्वान्दो संघका कोषाध्यक्ष सुवास जयसवालले इशिलालेखलाई जानकारी दिए ।

प्लेयर अफ दि म्याच निरज यादव ।
बारा क्रिकेट टिम ।
पर्सा क्रिकेट टिम ।

प्रतिक्रिया दिनुहोस्