मधेश क्रिकेट लिगः बारा शिर्ष स्थानमा, सर्लाही पुछारमा


eShilalekh

१० जेष्ठ २०८२, शनिबार २०:०७

सिमराः मधेश क्रिकेट लिगमा बाराले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । वीरगन्ज र कलैयामा जारी प्रतियोगिता अन्तर्गत शनिबार पाचौं खेलमा जित निकाल्दै बारा अपराजित हुने टिम बनेको हो ।

प्रतियोगितामा पाँच खेल खेलेको बाराले चार खेलमा जित र एक खेल बराबरीको नतिजा निकालेको छ । सप्तरी, सर्लाही, सिरहा र रौतहटलाई पराजित गर्दा बाराले धनुषासंगको खेलमा भने अंक बाडेको थियो । उक्त खेल वर्षाले विथोलिन पुगेको थियो ।

मधेशको आठ जिल्लाको सहभागिता रहेको प्रतियोगितामा हालसम्म अपराजित रहने बारामात्रै एउटा टिम हो । चार जित र एक बराबरीका साथ ९ अंक बटुल्दै बारा अंकतालिकाको शिर्ष स्थानमा छ ।

समान पाँच खेलेको धनुषा दोस्रो स्थानमा छ । पाँच खेलमा सात अंक बटुलेको धनुषाले तीन जित, एक हार र एक बराबरी खेलेको थियो । तेस्रो स्थानमा रहेको सप्तरीको पनि सात अंक छ । सप्तरीले पनि तीन जित, एक हार र एक बराबरी खेलेको छ ।

दुई जित, दुई हार र एक बराबरीका साथ रौतहट चौथो स्थानमा छ भने सोही नतिजाका साथ पर्साका पाचौं स्थानमा छ । रौतहट र पर्साले समान पाँच अंक बटुलेका छन् । तालिकाको छैठौं स्थानमा महोत्तरी छ । चार अंक बटुलेको महोत्तरीले दुई खेलमा जित र तीन खेलमा हार व्यहोरेको छ ।

सिरहा तीन अंकका सात सातौं स्थानमा छ । सिरहाले एक खेलमा जित, तीन खेलमा हार र एक खेल बराबरी खेलेको थियो । हालसम्म खेलेको सबै खेलमा हार व्यहोर्दै अंकविहिन रहेको सर्लाही अंकतालिकाको पुछारमा छ ।

प्रतियोगितामा सहभागी टिमले अब समान दुई खेल खेल्न बाँकी छ । प्रतियोगिताको शिर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्ने मधेश प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुवास जयसवालले इशिलालेखलाई जानकारी दिए ।

मधेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको सहयोगमा मधेश प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो । बाराको सिद्धेश्वर र पर्साको नारायणी रंगशालामा खेल भईरहेको छ ।

कलैयास्थित सिद्धेश्वर मैदानमा शनिबार भएको दुई खेलमा बारा र सप्तरी बिजयी भएका छन् । यसैगरी पर्साको नारायणी रंगशालामा भएको दुई खेलमा धनुषा र महोत्तरी बिजयी भएको छ ।

बाराले पाचौं जित निकाल्ने क्रममा रौतहटलाई ४५ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङको निम्तो पाएको बाराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६५ रन बनाएको थियो । बाराका लागि ओपनर साहिल पटेलले ४४ र निरज यादवले ३८ रन बनाए भने निखिल सिंहले अविजित २३ रन जोडेका थिए । रौतहटका बलर आशिक बैठाले तीन, राजेश यादवले दुई, सन्नी साह र मोहन घिमिरेले १/१ विकेट हात पारे ।

बाराले दिएको एक सय ६६ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको रौतहट एक सय २० रनमा समेटियो । रौतहटका सन्नी साहले ३१, निश्चल बिक्रमले २९ र रोहित सोनलले १३ रन बनाए । अन्य ब्याटर चल्न सकेनन् ।

बाराका कप्तान पवन सर्राफ, अरनिको यादव र निखिल सिंहले समान ३/३ विकेट लिए भने कमल गुप्ताले एक विकेट हात पारे । निखिल सिंह प्लेयर अफ दि म्याच घोषित भए । सिंहलाई नेशनेल इन्फोटेक कलेजकी संस्थापक काजल सिंहले पुरस्कृत गरेकी थिईन् । बाराले अब आइतबार पर्सा र सोमबार महोत्तरीसंग खेल्नेछ ।

कलैयामै भएको अर्को खेलमा सप्तरीले सर्लाहीलाई १३ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ राजेको सप्तरीले १९.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर एक सय २७ रन जोडेको थियो । सप्तरीका लागि पप्पु यादवले ४४ र रोहन विकले २५ रन बनाए । सर्लाहीका बलर अभय यादवले तीन, पप्पु यादव र विशाल पटेलले २/२ विकेट लिए ।

सप्तरीले प्रस्तुत गरेको एक सय २८ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको सर्लाहीले २० ओभरमा सात विकेट गुमाएर एक सय १४ रन मात्रै बनाउन सक्यो । सर्लाहीका गोपीकान्त मुखियाले अविजित २९, आरिफ राजाले २६ र निरज यादवले २० रन बनाए । सप्तरीका बलर महमद सकिम आलम र राहुल विकले २/२ विकेट लिए । सप्तरीका पप्पु यादव प्लेयर अफ दि म्याच घोषित भए । यादवलाई मधेश प्रदेशसभा सदस्य महमद समीरले पुरस्कृत गरेका थिए । सप्तरीले आइतबार महोत्तरी र सोमबार पर्सासंग खेल्नेछ ।

वीरगन्जको नारायणी रंगशालामा शनिबार नै भएको पहिलो खेलमा धनुषाले घरेलु टोली पर्सामाथि १५ रनको जित निकालेको छ । टस जितेर ब्याटिङको निम्तो पाएको धनुषाले २० ओभरमा सबै विकेट गुमाएर एक सय १० रनको मध्यम स्कोर खडा गरेको थियो ।

धनुषाका लागि ओपनर मयन यादव र हिमांशु दत्तबाहेक अन्य ब्याटर चल्न सकेनन् । मयनले २७ र हिमांशुले २२ रन बनाए । बिशाल सुस्लिङले १६ र साजन यादवले १४ रन मात्रै जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

वीरगन्जका लागि संसाद मन्सुरीले तीन विकेट लिए भने अर्जुन चौहानले दुई विकेट हात पारे । रञ्जित कुमार र अल्फाज मन्सुरीले १/१ विकेट लिए ।

धनुषाले दिएको एक सय ११ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको पर्सा ९५ रनमै समेटियो । घरेलु मैदानमा पर्साका खेलाडी चल्न सकेनन् । पर्साका सफवान अलीले सर्वाधिक ३१ रन बनाए । सुरजप्रसाद कुर्मीले १७ र ओपनर अल्फाज मन्सुरीले १० रन जोड्दा अन्य ब्याटरले पर्सालाई निराश बनाएका थिए ।

धनुषाका रामपुर यादवले चार विकेट हात पारे । चार ओभर बलिङ गरेका यादवले एक मेडनसहित सात रन खर्चिएर महत्वपूर्ण चार विकेट लिएका थिए । यसैगरी बिक्रान्त यादव र अखिलेश ठाकुरले २/२ विकेट लिए । रामपुर यादव प्लेयर अफ दि म्याच घोषित भए । धनुषाले अब आइतबार रौतहट र सोमबार सर्लाहीसंग खेल्नेछ ।

यसैगरी शनिबार भएको चौथो खेलमा महोत्तरीले सिरहामाथि आठ विकेटको हात पारेको छ । टस जितेर ब्याटिङ रोजेको सिरहाले १५.२ ओभरमा सबै विकेट गुमाएर ७८ रन मात्रै बनाएको थियो । सिरहाका लागि रुपेशकुमार सिंहले २६ र अशोक यादवले ११ रन बनाए ।

सिरहालाई सस्तैमा समेटने क्रममा महोत्तरीका रमेश सहनीले चार विकेट लिए । चार ओभर बलिङ गरेका सहनीले २३ रन खर्चिएर चार विकेट हात पारेका थिए । यसैगरी अभिषेक तिवारी र विनोद सहनीले २/२ विकेट लिए ।

सिरहाले दिएको ७९ रनको लक्ष्य महोत्तरीले दुई विकेटको क्षतिमा ७४ बलमै पूरा गर्यो । ओपनर नविनकुमार यादवलाई शून्यमै गुमाएको महोत्तरीका लागि रवि सिंहले अविजित ५० रनको अर्धशतकीय पाली खेले । रविले ३८ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । यसैगरी महमद सर्फराज अंसारीले २७ रन बनाए भने अभिषेक तिवारीले अविजित ६ रन बनाए ।

रवि सिंह प्लेयर अफ दि म्याच घोषित भए । अंकतालिकाको छैठौं स्थानमा रहेको महोत्तरीले अब आइतबार सप्तरी र सोमबार बारासंग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्