आदिलको विष्फोटक ब्याटिङमा बाराको पाचौं जित


eShilalekh

११ जेष्ठ २०८२, आईतवार २१:५६

सिमराः नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा भएपछि घरेलु प्रतियोगितामार्फत खेलमा फर्किएका बाराका आदिल अंसारीले मधेश क्रिकेट लिगमा आइतबार विष्फोट ब्याटिङ गरेका छन् । पर्सालाई उसकै घरेलु मैदानमा हराउने क्रममा बाराका आदिलले ३७ बलमा ७३ रन बनाए । उनले ९ छक्का र एक चौका प्रहार गरे ।

आदिलको विष्फोट व्याटिङको मद्यतबाट बाराले पर्सामाथि पाँच विकेटको जित निकाल्दै थप दुई अंक बटुलेको छ । यो जितका साथ बारा ११ अंकसहित तालिकाको शिर्ष स्थानमा छ । समान ६ खेल खेलेको पर्सा भने पाँच अंकसहित पाचौं स्थानमा छ ।

वीरगन्जको नारायणी रंगशालामा आइतबार टस जितेर ब्याटिङ राजेको पर्साले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २९ रन बनाएको थियो । पर्साका लागि सफवान अलीले सर्वाधिक ५२ रन बनाए । यसैगरी वसिम मंसुरीले २६, सुरज कुर्मीले १७ रन जोडे । बलिङतर्फ बाराका अरनिको यादवले तीन विकेट लिँदा अन्य चार बलरले १/१ विकेट हात पारे ।

पर्साले दिएको एक सय ३० रनको लक्ष्य बाराले १४.४ ओभरमै पूरा गर्यो । ओपनर निरजकुमार यादवबाहेक अन्य चार खेलाडीलाई सस्तैमा गुमाएको बाराका लागि आदिल अंसारीले उत्कृष्ट ब्याटिङ गर्दै जित दिलाए । ओपनर निरजले ३१ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आदिल प्लेयर अफ दि म्याच घोषित भए । बाराले अब लिग चरणको अन्तिम खेलमा सोमबार महोत्तरीसंग वीरगन्जको नारायणी रंगशालामा खेल्नेछ ।

यसैगरी पर्सामै भएको अर्को खेलमा सप्तरीले महोत्तरीमाथि ३४ रनको जित निकालेको छ । टस जितेर ब्याटिङ रोजेको सप्तरीले २० ओभरमा आठ विकेट गुमाउँदै ९९ रनको मध्यम स्कोर खडा गरेको थियो ।

सप्तरीका लागि रोहन विकले ३३ र राहुल विकले २० रन बनाए । अन्य ब्याटर चल्न नसक्दा सप्तरीले महोत्तरीलाई मध्यम लक्ष्य प्रस्तुत गरेको थियो । महोत्तरीका आकाश मण्डलले तीन र रमेश सहनीले दुई विकेट लिएका थिए ।

समान ६-६ खेलपछिको अंकतालिका ।

सप्तरीले दिएको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको महोत्तरी ६५ रनमै समेटियो । महोत्तरीका नविनकुमार यादवले सर्वाधिक १४ रन बनाए । महोत्तरीलाई सस्तैमा समेटने क्रममा सप्तरीका पप्पु यादवले तीन विकेट लिए भने अजय यादव र महमद सकिम आलमले २/२ विकेट लिए ।

पप्पु यादव प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगिताबाट बाहिरिएको महोत्तरीले अब अन्तिम खेलमा हालसम्म अपराजित रहेको बारासंग सोमबार खेल्नेछ ।

यता बारामा भएको खेलमा रौतहटले धनुषालाई ३८ रनले पराजित गर्दै महत्वपूर्ण दुई अंक बटुलेको छ । टस सिद्धेश्वर मैदानमा टस जितेर ब्याटिङ रोजेको रौतहटले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३५ रन बनाएको थियो । रौतहटका रोहित सोनल, अरविन्द चौधरी र राजेश यादवले समान २४ रन बनाएका थिए । धनुषाका बलर रामपुर यादवले तीन विकेट लिए ।

रौतहटले दिएको एक सय ३६ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको धनुषा १८.४ ओभरमा ९७ रनमै समेटिन पुग्यो । धनुषाका लागि अलि अकबर अंसारीले ३१ र मयन यादवले २५ रन बनाए । रौतहटका बलर राजेश यादव र सन्नी साहले ३÷३ विकेट लिए ।

आदिल अंसारी

जितसंगै रौतहट अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने सप्तरी चौथो स्थानमा झरेको छ । रौतहटले अब अन्तिम खेलमा सोमबार दोस्रो स्थानमा रहेको सिरहासंग खेल्नेछ ।

धनुषाले भने अंकतालिका पुछारमा रहेको सर्लाहीसंग लिग चरणको अन्तिम खेल खेल्नेछ । सर्लाही जारी प्रतियोगिताको सबैभन्दा कमजोर टिम देखिएको छ । ६ खेल खेलेको सर्लाही हालसम्म अंकविहिन । सर्लाहीले सबै खेलमा पराजय व्यहोरेको छ । कलैयामा आइतबार भएको छैठौं खेलमा पनि सर्लाही पराजित भएको छ ।

सिरहाले सर्लाहीलाई दुई विकेटले पराजित गरेको हो । जितसंगै सिरहा अंकतालिकाको छैठौं स्थानमा उक्लिएको छ । सिरहाले अन्तिम खेलमा रौतहटसंग खेल्नेछ ।

मधेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको सहयोगमा मधेश प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो । बाराको सिद्धेश्वर र पर्साको नारायणी रंगशालामा खेल भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्