करैयामाई गोल्डकपको दोस्रो संस्करण जेठ २४ गतेदेखि

सिमराः करैयामाई गोल्डकपको दोस्रो संस्करण जेठ अन्तिम साता हुने भएको छ । आयोजक नव जन प्रगति युवा क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै जेठ २४ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता आयोजना हुने जानकारी गराएको हो ।
बाराको करैयामाईस्थित उमजन खेल मैदानमा हुने प्रतियोगितामा साविक विजेता वीरगन्ज सिटीसहित सन राईजिङ उमजन, नव जनजागृति युवा क्लब, बारा ११, रौतहट ११, योङ स्टार युनाईटेड निजगढ, एपीएफ बर्दिबास र आयोजकको सहभागिता रहनेछ ।
करैयामाई गाउँपालिकाको मुख्य सहयोगमा हुन लागेको प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ३० हजार नगद प्राप्त गर्नेछ । विधागततर्फका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष रुपनारायण यादवले जानकारी दिएका छन् ।
प्रतियोगितामा आठ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । क्लबका अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सहजीकरण सचिव गोपालप्रसाद चौधरीले गरेका थिए ।