सिमरा रंगशालामा फूटबलसंगै क्रिकेट पनि खेलाउन सकिने अवस्था छः पारस खड्का

सिमराः बाराको सिमरास्थित सिमरा रंगशालामा क्रिकेट प्रतियोगिता समेत आयोजना गर्न सकिने सम्भावनाको खोजी सुरु गरिएको छ । जसका लागि नेपाल क्रिकेट संघका सचिव तथा राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले शुक्रबार रंगशालाको स्थलगत निरीक्षण गरेका छन् ।
सिमरा रंगशालामा हरेक वर्ष भव्य रूपमा आयोजना हुँदै आएको जीतपुरसिमरा गोल्डकप फूटबल प्रतियोगिताले यस क्षेत्रलाई खेलकुदको केन्द्रबिन्दु बनाउँदै लगेका बेला क्रिकेटको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर मैदानलाई बहुउद्देश्यीय बनाउने पहल थालिएको हो ।
फूटबल प्रतियोगिता आयोजक नव जनजागृति युवा क्लब, सिमरामा रहेका स्थानीय क्रिकेट क्लब, जिल्ला क्रिकेट संघ तथा मधेश प्रदेश क्रिकेट संघको अनुरोधमा सचिव खड्का केन्द्रीय टोलीसहित सिमरा रंगशालामा पुगेका थिए । उनले रंगशालाको वर्तमान संरचना, पूर्वाधार विकासको अवस्था र मैदानको स्वरूपबारे निरीक्षण गरेका हुन् ।
रंगशाला अहिले पनि निर्माणाधीनको अवस्थामा छ । रंगशालामा हजारौं दर्शक अटाउने प्यारापिट निर्माण हुने क्रम जारी छ । मैदानमा उच्च क्षमताको फ्लडलाईट पनि जडान भइसकेको छ । जसले गर्दा रात्रीकालिन खेलसमेत सहज रूपमा आयोजना गर्न सकिने अवस्था छ । जीतपुरसिमरा गोल्डकप प्रतियोगिता केही वर्षदेखि रात्री समयमा हुँदै आएको छ ।

फुटबलमैत्री रंगशालालाई क्रिकेट खेलका लागि पनि उपयुक्त बनाउन आवश्यक पूर्वाधार थप्ने विषयमा स्थानीय सरकार जीतपुरसिमरा उपमहानगरपालिका पनि सकारात्मक छ । यसअघि नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, नेपाल क्रिकेट संघका व्यवस्थापक विनोद दासलगायतले रंगशालाको स्थलगत निरीक्षण गरिसकेका छन् ।
अवलोकनका क्रममा क्यानका पदाधिकारीले सिमरा रंगशालामा क्रिकेट खेल खेलाउन सकिने अवस्था रहेको बताउँदै आएका छन् । वर्तमान अवस्थामा रहेको रंगशालामा पूर्वाधार थप गरेर दुवै खेल खेलाउन सकिने उनिहरुको भनाई छ ।
सिमरा रंगशालालाई बहुउदेश्यी रंगशालाको रूपमा विकास गर्ने परिकल्पनालाई व्यवहारमा रुपान्तरण गर्न सकिने सम्भावना बनेपछि स्थानीय खेलसम्बद्ध संघसंस्था समेत चासोका साथ लागिरहेका छन् फुटबल प्रतियोगिता सफलतापूर्वक सञ्चालन हुँदै आएको रंगशालामा अब क्रिकेट प्रतियोगिता सञ्चालनको सम्भावनाले नयाँ उत्साह थपेको छ । सचिव पारस खड्काको निरीक्षणपछि स्थानीय तह, संघीय संघसंस्थाहरू र खेलकुदप्रेमी समुदायले रंगशालाको भविष्यप्रति थप आशावादी दृष्टिकोण बनाएका छन् ।
अवलोकनपछि प्रतिक्रिया दिदै सचिव खड्काले सिमरा रंगशालामा क्रिकेट खेल आयोजना गर्न सकिने अवस्था रहेको बताएका छन् । निरीक्षणका क्रममा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य करण महतरा, सुदीप शर्मा, छुम्बी लामा, आयुश श्रेष्ठ, प्रदेश अध्यक्ष सुनिल महासेठ, कोषाध्यक्ष सुवास जयसवाल, बारा जिल्ला फूटबल संघका अध्यक्ष रामचन्द्र लामा, नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष त्रिलोक बिक्रम शाहलगायतको उपस्थिति रहेको थियो ।