वीरगन्जका आरिफ शेखको उत्कृष्ट ब्याटिङमा नेदरल्याण्डविरुद्ध नेपालको शानदार जीत

सिमराः स्कटल्याण्डको डुन्डीमा बुधबार सम्पन्न आइसिसी विश्वकप लिग टु अन्तर्गतको खेलमा नेपालले नेदरल्याण्ड्सलाई पाँच विकेटले पराजित गरेको छ। दुई सय २६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा पाँच विकेट गुमाउँदै सहजै पूरा गर्यो।
नेपालको जितमा मध्यमक्रमका ब्याट्सम्यान आरिफ शेखले उत्कृष्ट अर्धशतक प्रहार गर्दै ७८ रन बनाए। उनले ९९ बलमा सात चौका र दुई छक्का प्रहार गरे। उपकप्तान दीपेन्द्र सिंह ऐरीले ६१ बलमा नटआउट ३८ रन बनाए। यी दुईले पाँचौं विकेटका लागि ८९ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई जितको नजिक पुर्याए ।
नेपालका ओपनर कुशल भुर्तेलले २५, कप्तान रोहित पौडेलले २३, आसिफ शेखले १९ र भीम सार्कीले ११ रनको योगदान दिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २२५ रनमै समेटियो। कप्तान स्कट एडवार्डसले ४६, नोहा कोर्सले ४८ रन बनाए भने ८औं विकेटका लागि कोर्स र रोलेफ भान डर मिर्वोबीच ५५ रनको साझेदारी भएको थियो ।
नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान २-२ विकेट लिए। सुरुवाती बलिङमै नेपालले दुवै ओपनरलाई आउट गर्दै दबाब बनाएको थियो।
यो जितसँगै नेपालले लिग टुमा १४ खेलमा १० अंक जोड्दै तालिकाको सातौं स्थानमा यथावत् रहेको छ। नेदरल्याण्ड्स २१ खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ।
लिग टु सन् २०२७ को एक दिवसीय विश्वकपको छनोट प्रतियोगिता समेत हो। लिगको अन्त्यमा शीर्ष चार टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधा स्थान बनाउने छन् भने पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्नेछ ।
नेपालको बाँकी खेल तालिका (लिग २ चौथो राउण्ड):
१) जेठ २५ (जुन ८) – स्कटल्याण्डविरुद्ध नेपाल
२) जेठ २७ (जुन १०) – नेदरल्याण्ड्सविरुद्ध नेपाल
लिगपछि नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीच असार १ (जुन १५) देखि त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ। नेपालको बलियो प्रदर्शनले विश्वकप छनोटको होड अझ रोमाञ्चक बनेको छ।