जीतपुरसिमरा क्रिकेट कपको दोस्रो संस्करण जेठ २४ गतेदेखि

सिमराः जीतपुरसिमरा क्रिकेट कपको दोस्रो संस्करण जेठ २४ गतेदेखि शुरु हुने भएको छ । प्रतियोगिता आयोजक जीतपुरसिमरा क्रिकेट क्लबले बिहीबार सेज क्रिकेट मैदानमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
जेठ ३१ गतेसम्म आयोजना हुने प्रतियोगितामा बारा जिल्ला क्रिकेट संघ, पर्सा जिल्ला क्रिकेट संघ, मकवानपुर जिल्ला क्रिकेट संघ, गरुडा नगरपालिका रौतहट, युनाईटेड क्रिकेट क्लब वीरगन्ज र आयोजकको सहभागिता रहेको छ ।
प्रतियोगितामा सहभागी हुने टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा वीरगन्ज, गरुडा नगरपालिका र आयोजक रहेका छन् भने समूह ‘बी’ मा बारा, पर्सा र मकवानपुर क्रिकेट संघ रहेका छन् । दुबै समूहको विजेताबीच फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछन् । यसबाहेक उत्कृष्ट ब्याटर, उत्कृष्ट बलरले आकर्षक पुरस्कार पाउने आयोजक क्लबका उपाध्यक्ष समिन विष्टले जानकारी दिए ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना हुन लागेको प्रतियोगितालाई मधेश प्रदेश क्रिकेट संघ र जिल्ला क्रिकेट संघले प्राविधिक सहयोग गर्ने आयोजक क्लबका अध्यक्ष सोमलाल बम्जनले बताए ।
पत्रकार सम्मेलनमा नेकपा एमाले मधेश प्रदेशका सचिव मनोज पौडेलले क्रिकेट खेलको विकासका लागि जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिताको भूमिका अहम रहेको बताएका छन् ।
क्लबका अध्यक्ष बम्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सुशान्त ठकुरीले गरेका थिए । कार्यक्रममा एमाले वडा नं. ३ का वडा कमिटी अध्यक्ष शुक्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।