सप्तरीमा डाँका समूहको गोली प्रहारबाट एकको मृत्यु, एक घाइते


eShilalekh

२३ जेष्ठ २०८२, शुक्रबार १५:०२

सप्तरी: सप्तरीको सुरुङ्गा नगरपालिका ८ मल्हनवामा डाँका समूहको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

डाँका समूहको गोली प्रहारबाट ५० वर्षीय कान्तालाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए। मृतकका भाइ रामाकान्त चौधरी घाइते भएका छन्। उनलाई उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको छ।

पाँच जना डाँकाका समूहले शुक्रबार बिहान करिब १ बजे घरमा लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा धारिलो हतियार प्रहारपछि गोली हानी कान्तालालको हत्या गरिएको हो। डाँकाहरूले रामाकान्तमाथि पनि धारिलो हतियार प्रहार गरेका थिए।

घटनापछि डाँका समूहले पाँच तोला सुन, दुई केजी चाँदी र करिब ६० हजार नगद लुटेर फरार भएको बताइएको छ । प्रहरीले घटनास्थलबाट नपड्किएको ३ राउन्ड गोली र एक राउन्ड गोलीको खोका फेला पारेको छ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्