विद्युत महसुलमा लगाइएको भ्याट खारेजीको माग गर्दै सिमरामा उज्यालो नेपालको हस्ताक्षर संकलन अभियान

सिमरा: विद्युत महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेजीको माग राख्दै कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले मंगलबार बाराको सिमरामा हस्ताक्षर संकलन अभियान सुरु गरेको छ। सरकारमाथि जनदबाब सिर्जना गर्ने उदेश्यले नागरिकको हस्ताक्षर संकलन अभियान सुरु गरिएको उज्यालो नेपालले जनाएको छ ।
उज्यालो नेपालले विद्युत महसुलको कर खारेजीका साथै डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल असुली गर्न माग राखेको छ । डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता असुलीमा सरकारले आलटाल गरिरहेको आरोप लगाउँदै उज्यालो नेपालले जनताको आवाजलाई एकताबद्ध गरी सरकारलाई जवाफदेही बनाउन अभियान अघि बढाएको जनाएको छ।

यसैगरी विद्युत् केवल राजस्व संकलनको माध्यम मात्र नभई उत्पादन, रोजगारी र आर्थिक समृद्धिको आधार भएकाले यसमा लगाइएका अनावश्यक करहरू हटाइनुपर्ने माग उज्यालो नेपालको रहेको छ । विद्युतलाई सस्तो, सहज र प्रतिस्पर्धी बनाउन यसमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा खारेज गर्नुपर्ने माग अघि सारिएको छ ।
विद्युत् उपभोगमा प्रोत्साहन दिने नीति लिनुको साटो सरकारले कर थोपर्ने काम गरेको भन्दै उज्यालो नेपालले यसको विरोध गरेको छ । उसले विद्युतको भ्याट खारेज, डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता असुली, स्वदेशी बिजुली खपतलाई प्रोत्साहन, इन्डक्सन चुलो वितरण तथा प्रयोगलाई प्रोत्साहन, ग्याँसको आपूर्ति सहज गर्न माग राखेको छ ।
हस्ताक्षर संकलन अभियानका क्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अर्जुन शर्मा, केन्द्रीय सदस्य रोशन अधिकारी, मधेस प्रदेश अध्यक्ष राम सिंह (पराग), जिल्ला सदस्य नविन लामा, सरिता लामालगायत उपस्थित थिए ।










