रौतहटमा करेसाबारी अभियानले बदल्दैछ बालपोषणको अवस्था

बिना राउत
रौतहट: रौतहटका ग्रामीण भेगमा घर-घरै सुरु गरिएको करेसाबारी प्रवर्द्धन अभियानले बालकुपोषण न्यूनीकरणमा उल्लेखनीय सुधार ल्याउन थालेको छ। स्थानीय तह र गैरसरकारी संस्थाको सहकार्यमा सञ्चालित पोषण परियोजनाले खाली जमिनमा मौसमअनुसारका सागसब्जी फलाउने र उपभोग गर्ने बानीको विकास गराएपछि विपन्न तथा जोखिममा रहेका परिवारका बालबालिकाको स्वास्थ्य अवस्था सुध्रिँदै गएको छ।
‘दुई वर्ष पुग्न दुई महिना मात्र बाँकी थियो। त्यही बेला मेरो छोरा कुपोषणको शिकार भएको थाहा पाएँ। म निराश भएँ, केही सोच्नै सकिनँ ।’ रौतहटको ईशनाथ नगरपालिका-२ की मधुकुमारी साहले केही समयअघिको पीडा यसरी सम्झिइन्। उनका छोरा खान मन नगर्ने, पटक-पटक रुने तथा उमेरअनुसार तौल कम हुने समस्या देखिए पनि सुरुमा उनले त्यसलाई सामान्य रूपमा लिइन्। स्वास्थ्य संस्थामा जाँच गराउनेतर्फ पनि उनको ध्यान जान सकेन।
एकदिन घरमै पुगेकी महिला स्वास्थ्य स्वयंसेविकाले बच्चालाई हेरेर तत्काल स्वास्थ्य परीक्षण गराउन सुझाव दिएपछि मात्रै मधुकुमारी सचेत भइन्। स्वास्थ्य संस्थामा परीक्षण गर्दा बच्चा कुपोषित भएको पुष्टि भयो। चिकित्सकको सल्लाहअनुसार उपचार तथा पोषणयुक्त खाना खुवाउने अभ्यास सुरु गरेपछि अहिले बच्चाको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। ‘अहिले त छोरा धेरै राम्रो भएको छ। पहिले छिनछिनमा रुन्थ्यो, अहिले हाँस्छ, खेल्छ र जिस्किन पनि आउँछ’ मधुकुमारीले खुसी हुँदै भनिन् ।
कुपोषणबाट बच्चालाई बाहिर निकाल्न उपचारसँगै घरमै उपलब्ध हुने पोषणयुक्त खाद्य पदार्थको प्रयोगमा जोड दिइएको छ। केयर नेपालको सहयोगमा संरक्षण नेपालले सञ्चालन गरिरहेको पोषण परियोजनाले परिवारलाई लिटो तथा पोषणयुक्त खाना बनाउन सिकाउनुका साथै दाल, चना, घ्यू लगायतका खाद्य सामग्री उपलब्ध गराउँदै आएको छ ।
परियोजनाले ‘आफ्नै करेसाबारी, पूरा पोषण’ को अवधारणालाई समेत प्राथमिकतामा राखेको छ। घर वरपरको खाली जमिनमा मौसमअनुसारका तरकारी उत्पादन गरी नियमित रूपमा परिवारमा उपभोग गर्ने अभ्यासले बालबालिकाको पोषणमा प्रत्यक्ष योगदान पुर्याउने अपेक्षा गरिएको छ।
मधुकुमारी अहिले आफ्नै करेसाबारीमा घिरौँला, बोडी, लौका लगायतका तरकारी उत्पादन गरेर परिवारलाई खुवाउँछिन्। ‘बारीमै तरकारी फलाएर खान थालेपछि बजारबाट किन्नुपर्ने बाध्यता कम भएको छ। घरमै ताजा तरकारी पाइन्छ’ उनले भनिन् ।
ईशनाथ नगरपालिका-३ की नेहाकुमारीको अनुभव पनि यस्तै छ। संयुक्त परिवारमा बस्ने भएकाले नियमित रूपमा बजारबाट तरकारी खरिद गर्न आर्थिक रूपमा कठिन हुने र बजारको तरकारी सधैं ताजा नहुने भएपछि उनले आफ्नै करेसाबारीमा मौसमअनुसार विभिन्न प्रजातिका तरकारी उत्पादन गर्न थालेकी हुन् । ‘करेसाबारीमा फलेका सागसब्जीले परिवारलाई पोषणयुक्त खाना उपलब्ध गराउन धेरै सहयोग पुगेको छ’ उनले भनिन्।
नेहाले अहिले आफ्नो बारीमा लौका, घिरौँला, भिन्डी, काउली लगायत सात प्रकारका तरकारी उत्पादन गर्दै आएकी छन्। आफूले उत्पादन गरेको तरकारी छिमेकीलाई समेत दिने गरेको बताउँदै उनले घरमै तरकारी उत्पादन गर्ने बानी बसाल्न समुदायलाई समेत प्रेरित गरिरहेकी छन् । संरक्षण नेपालबाट कृषि तथा पोषणसम्बन्धी तालिम लिएपछि आफू अगुवा कृषकका रूपमा समेत गाउँघरमा करेसाबारीको महत्वबारे जानकारी गराउँदै आएको नेहाले बताइन्। आफ्नै बारीमा रासायनिक मलको सट्टा स्थानीय रूपमा उपलब्ध जैविक मल प्रयोग गर्ने गरेको उनको भनाइ छ।
उनका अनुसार करेसाबारीले परिवारको पोषणमा मात्रै होइन, आर्थिक रूपमा समेत राहत दिएको छ। ‘ बजारबाट तरकारी किन्नुपर्ने खर्च बचत हुन्छ। आफ्नै बारीको ताजा तरकारी खान पाइन्छ। अरू परिवारलाई पनि आफ्नै बारीमा तरकारी लगाउन प्रेरित गरिरहेकी छु’ उनले भनिन् ।
उपचारसँगै रोकथाममा जोड
ईशनाथ नगरपालिका-३ स्वास्थ्य चौकीका प्रमुख दिनेश साहका अनुसार बालबालिकाको तौल, उचाइ तथा अन्य स्वास्थ्यसम्बन्धी सूचक ‘कोबो एप’ मा अभिलेख राखेर कुपोषणको अवस्था पहिचान गर्ने गरिएको छ। कुपोषण देखिएमा त्यसको तहअनुसार उपचार तथा पोषणसम्बन्धी सेवा प्रदान गरिन्छ । ‘शीघ्र कुपोषित वा मध्यम कुपोषित कुन तहको समस्या हो भन्ने पहिचान गरेर सोहीअनुसार उपचार सुरु गर्छौं’ साहले भने ।
उनका अनुसार वडा नं. ३ मा केही समयअघि १५ जना कुपोषित बालबालिका पहिचान भएका थिए । उपचार तथा पोषणसम्बन्धी निरन्तर सहयोगपछि अहिले उनीहरूको स्वास्थ्य अवस्थामा सुधार आएको छ । गैरसरकारी संस्था र स्थानीय सरकारबीचको समन्वयले कुपोषण न्यूनीकरणमा सकारात्मक परिणाम देखिएको उनको भनाइ छ।
ईशनाथ नगरपालिकामा गर्भवती तथा सुत्केरी गरी ६२५ जना परियोजनाबाट लाभान्वित भएको बताइएको छ। कुपोषित शिशु जन्मिने जोखिम घटाउन गर्भवती महिलाको पोषणमा ध्यान दिने, बालबालिकामा कुपोषण बढ्न नदिने तथा घरमै पोषणयुक्त सागसब्जी उत्पादन गर्ने अभ्यासलाई स्थानीय तहले प्राथमिकता दिएको छ। महिला स्वास्थ्य स्वयंसेविकामार्फत कुपोषणको प्रारम्भिक पहिचान तथा स्वास्थ्य परीक्षणका लागि समुदायमा जनचेतना फैलाउने कामसमेत भइरहेको स्वास्थ्य चौकी प्रमुख साहले बताए । ‘कुपोषित बालबालिकाको संख्या बढ्न नदिन हामी समय–समयमा समुदायमा अनुगमन गर्ने गरेका छौं’ उनले भने।
पाँच पालिकामा पोषण परियोजना
संरक्षण नेपालकी पोषण तथा सरसफाइ सहजकर्ता चन्दाकुमारीका अनुसार केयर नेपालको सहयोगमा सञ्चालित पोषण परियोजना रौतहटका १८ स्थानीय तहमध्ये राजदेवी, ईशनाथ, चन्द्रपुर, कटहरिया र गरुडा गरी पाँच स्थानीय तहमा सञ्चालन भइरहेको छ । परियोजनाले दलित, मुस्लिम तथा अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकतामा राख्दै बालबालिकाको पोषण सुधार, सरसफाइ, पोषणसम्बन्धी व्यवहार परिवर्तन तथा करेसाबारी प्रवर्द्धनमा काम गरिरहेको छ।
बालबालिकालाई आवश्यक पोषकतत्व घरमै उपलब्ध गराउने उद्देश्यले मौसमअनुसारका तरकारीका बीउ वितरण गर्नुका साथै लाभग्राहीलाई कृषि तथा पोषणसम्बन्धी तालिम दिइएको चन्दाकुमारीले बताइन् । ‘कुपोषणका कारण कुनै पनि बालबालिकाको मृत्यु नहोस् भन्ने परियोजनाको मुख्य उद्देश्य हो’ उनले भनिन् । उनका अनुसार हालै गरिएको सर्वेक्षणमा ११८ जना कुपोषित बालबालिका पहिचान भएका थिए। पहिचान भएका सबै बालबालिकाको उपचार प्रक्रिया सुरु गरिएको ईशनाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत नितेशकुमार साहले बताए।
अभिभावकको भूमिका महत्वपूर्ण
जनस्वास्थ्य अधिकृत साहका अनुसार कुपोषण न्यूनीकरणमा सरकारी तथा गैरसरकारी संस्थाले कार्यक्रम सञ्चालन गरे पनि घरपरिवारको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ। ‘पालिकाले उपलब्ध गराउने पोषण सामग्री मात्र पर्याप्त हुँदैन । आफ्नै करेसाबारीमा उत्पादन हुने सागसब्जी तथा अन्य पोषणयुक्त खाद्य पदार्थ बालबालिकाको कुपोषण हटाउन निकै महत्वपूर्ण छन् । अभिभावकले यसतर्फ विशेष ध्यान दिनुपर्छ’ उनले भने।
नेपालमा पछिल्ला वर्षहरूमा बाल कुपोषणको अवस्थामा सुधार आए पनि चुनौती अझै कायम रहेको पोषण क्षेत्रका जानकारहरू बताउँछन्। विशेषगरी मधेश प्रदेशमा आर्थिक कमजोरी, खाद्य असुरक्षा, सरसफाइको कमी तथा मातृ-शिशु पोषणसम्बन्धी व्यवहारका कारण समस्या अझै गम्भीर रहेको देखिन्छ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा पाँच वर्षमुनिका बालबालिकामध्ये २९ प्रतिशतमा पुड्कोपन, १० प्रतिशतमा ख्याउटेपन र २७ प्रतिशतमा कम तौलको समस्या देखिएको थियो। मधेश प्रदेशमा यी सूचकहरू राष्ट्रिय औसतभन्दा उच्च रहेको तथ्यांकले देखाउँछ। यसैगरी ६ देखि २३ महिनाका बालबालिकामध्ये न्यूनतम आहार तथा पर्याप्त आहार विविधता प्राप्त गर्नेको संख्या पनि अपेक्षाकृत कम रहेको सर्वेक्षणले देखाएको छ।
रौतहटमा समेत कुपोषण न्यूनीकरणका लागि स्थानीय सरकार, स्वास्थ्य संस्था तथा गैरसरकारी संस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन भइरहेका छन्। उपचारसँगै घरमै पोषणयुक्त खाद्य पदार्थ उत्पादन र उपभोग गर्ने बानी विकास गराउन सके कुपोषणको दीर्घकालीन समाधानमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
करेसाबारीमा उत्पादन हुने एउटा लौका, घिरौँलाको एउटा लहरा वा सागको एउटा मुठीले मात्रै कुपोषणको सम्पूर्ण समस्या समाधान नगरे पनि नियमित, विविध र पोषणयुक्त आहारको आधार भने बन्न सक्छ। त्यसैले संरक्षण नेपालको ‘आफ्नै करेसाबारी, पूरा पोषण’ अभियान रौतहटमा बालपोषण सुधारका लागि समुदायस्तरबाट सुरु भएको एउटा महत्वपूर्ण प्रयासका रूपमा देखिएको छ।







