तीन दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्याको आशंका


eShilalekh

२ भाद्र २०८३, मंगलवार २२:००

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ स्थित दसधुरेबाट तीन दिनदेखि बेपत्ता भएकी तीन वर्षीया बालिका गरिमा चौधरी मंगलबार साँझ मृत अवस्थामा फेला परेकी छिन् ।

जीतपुरसिमरा-१ भक्तीटोलस्थित विगत पाँच महिनादेखि खाली रहेको वीरबहादुर रोक्काको घरभित्र बालिकाको शव नग्न अवस्थामा भेटिएको हो । शव भेटिएको स्थानमा बालिकाको भित्री कपडालगायतका लुगासमेत फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीय मनोज चौधरी र मनमती चौधरीकी छोरी गरिमा आइतबार बिहान करिब ८:३० बजे बस्तीको बीचबाटै अचानक बेपत्ता भएकी थिइन् । मङ्गलबार साँझ बालिकाको घरबाट करिब १५० मिटर दक्षिणमा रहेको खाली घरबाट दुर्गन्ध आएपछि स्थानीयले झ्यालबाट हेर्दा बालिकाको शव देखेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी अनुसन्धान र घटनास्थलको स्थिति बालिकाको शव सुन्निएको र योनीमा समेत चोट देखिएकाले जबर्जस्ती करणीपछि हत्या गरिएको आशंका गरिएको छ ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिलिप क्षेत्रीले शवको प्रकृति र कपडा भेटिएको अवस्थाले बलात्कारपछि हत्या भएको आशंका उत्पन्न गराएको बताएका छन् । उनका अनुसार घटनाको सत्यतथ्य भने शल्यपरीक्षण रिपोर्ट आएपछि मात्र थप पुष्टि हुनेछ ।

घटनास्थलको अनुसन्धानका लागि वीरगञ्जबाट तालिमप्राप्त कुकुर ल्याइएको थियो । घटनाको गम्भीरतालाई ध्यानमा राख्दै बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरसहितको टोली पनि घटनास्थल आएका थिए । उनी अहिले सिमरामै बसेर घटनाको अनुसन्धानमा प्रहरी परिचालन गरिरहेका छन् ।

प्रहरीले शवको मुचुल्का उठाएर शल्यपरीक्षणका लागि अस्पताल पठाएको छ। इलाका प्रहरी कार्यालय सिमराले बालिकाको हत्या भएको निष्कर्ष निकाल्दै प्रहरी निरीक्षक प्रकाश थापालाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्