जीतपुरसिमरा क्रिकेट कपः पर्साविरुद्ध मकवानपुर दुई विकेटले बिजयी

सिमराः जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा मकवानपुर क्रिकेट संघ बिजयी भएको छ । मकवानपुरले पर्सा क्रिकेट संघलाई दुई विकेटले पराजित गरेको हो ।
बाराको सिमरास्थित सेज क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पर्साले १८ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ८४ रन बनाएको थियो । पर्साका लागि सफवान अलीले १७, सम्साद मन्सुरीले १४, साहिल हवारीले १३, वशिम मन्सुरीले १२ र अक्युइब अन्सारीले १० रन बनाए ।
मकवानपुरका बलर राजा अहमद र रामनरेश गिरीले ३/३ विकेट लिए भने शुभ कंसकार र साकार गजुरेलले २/२ विकेट लिए ।
पर्साले दिएको ८५ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको मकवानपुरले १६.१ ओभरमा आठ विकेट गुमाउँदै जित हात पारेको हो । मकवानपुरका लागि विशाल फुयाल र विशेष बिक्रम थापाले १९/१९ रन बनाए । पर्साका बल रञ्जित कुमार र सम्साद मन्सुरीले ३/३ विकेट लिए भने अनुज चौहानले दुई विकेट लिए ।
खेलको ‘शुभारम्भ प्लेयर अफ दि म्याच’ मकवानपुरका राजा अहमद घोषित भए । अहमदले तीन हजार नगद प्राप्त गरे । अहमदलाई नेपाली कांग्रेसका नगर सभापति छविलाल शर्माले पुरस्कृत गरेका थिए ।
जितसंगै मकवानपुरले दुई खेलबाट दुई अंक हात पारेको छ । यसअघि बारा जिल्ला क्रिकेट संघ संग भएको पहिलो खेलमा मकवानपुर पराजित भएको थियो । मकवानपुरले अब बारा र पर्साबीचको खेलको नतिजा पर्खनुपर्नेछ ।
बारा र पर्साबीचको खेल बिहीबार हुनेछ । उक्त खेलमा बाराले जितेमा समूह विजेता हुँदै फाइनल प्रवेश गर्नेछ भने पर्साले जितेमा रनरेटका आधारमा फाइनल पुग्ने टिमको टुंगो लाग्नेछ ।
प्रतियोगिता अन्तर्गत बुधबार युनाईटेड क्रिकेट क्लब वीरगन्ज र गरुडा नगरपालिका रौतहटबीच खेल हुनेछ । दुई टिमबीचको विजेता फाइनल प्रवेश गर्नेछ । फाइनल खेल शनिबार हुनेछ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जीतपुरसिमरा स्पोर्ट्स क्लबको आयोजनामा जारी प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछ ।