अष्ट्रेलियाको जहाज छोडेर फर्किएका नन्दनको नयाँ उडान


दिवाकर भण्डारी

२९ जेष्ठ २०८२, बिहीबार १६:१९

सिमराः आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजबाट नेपालका लागि ४२औं एकदिवसीय क्याप लगाउँदै डेब्यु गरेका नन्दन यादव यतिबेला चर्चामा छन् । स्कटल्याण्डको डुण्डीमा नेदरल्याण्डविरुद्ध महत्वपूर्ण तीन विकेट लिँदै २६ वर्षीय नन्दनले मंगलबार शानदार डेब्यु गरे ।

नन्दनको डेब्यु खेल सबैका लागि अविस्मरणीय रहने निश्चित नै छ । उनको प्रदर्शनको मद्यतबाट नेपालले नेदरल्याण्डलाई १६ रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ । उक्त लिगमा नेपालको यो तेस्रो र नेदरल्याण्डविरुद्धको दोस्रो जित थियो ।
सिनियर खेलाडी घाइते भएपछि अवसर पाएका नन्दनले आफ्नो क्षमता प्रदर्शन गर्ने मौका समेत पाए । यो नन्दनका लागि सुखद् अवसर पनि हो । नेपालको जर्सीमा एकदिवसीय खेल खेल्ने सपना पनि नन्दनले पूरा गरेका छन् ।

पाँच महिनाअघि नेपालबाट अष्ट्रेलिया फर्कन लागेका उनी यही सपना पूरा गर्ने अठोटका साथ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घर फर्किएका थिए । विमानस्थलमा बोडिङ गरेर अष्ट्रेलियाको जहाज पर्खिरहेका नन्दनले अचानक आफ्नो निर्णय बद्लिएका थिए । यो निर्णय लिन उनलाई सहज थिएन । तर अभिभावकले पनि साथ दिए ।

अष्ट्रेलियामा तीन वर्षदेखि व्यवसायिक क्रिकेट खेल्दै आएका नन्दन नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न स्वदेश फर्किएका थिए । उनी कर्णाली याक्ससंग ११ लाखमा अनुबन्धित भएका थिए । एनपीएल खेलेर नन्दनको माघ ४ गते अष्ट्रेलिया फर्कने तालिका थियो ।

अष्ट्रेलियामा उनको आम्दानी पनि राम्रै थियो । पारिवारिक स्रोतका अनुसार प्रति सिजन उनले ६ हजार पाँच सय अष्ट्रेलियन डलर पाउँथे । त्यसबाहेक फुर्सदको समयमा काम गर्थे भने साना बालबालिकालाई क्रिकेट सिकाउथे । त्यसबाट पनि उनको आम्दानी हुन्थ्यो । नेपालबाट क्रिकेट खेल्ने इच्छा हुँदाहुँदै पनि अवसर नपाएर र आर्थिकरुपमा सबल बन्न अष्ट्रेलिया फर्कनुपर्ने उनको बाध्यता थियो ।

विमानस्थल जानुअघि नन्दनले सिरहामा रहेकी आमा समिरालाई फोन गरेर आफू अष्ट्रेलिया फर्कन लागेको जानकारी गराउँदै बिदा लिए । उनि सबै तयारीसहित विमानस्थल पुगेका थिए । विमानस्थल भित्र बोडिङ र लगेज चेकिङ गरेर उनि विमानको पर्खाइमा थिए । तर अचानक नन्दनको मन फेरियो ।

उनले अष्ट्रेलिया नफर्कने निधो गरे । तर यो कुरा कसलाई भन्ने भनेर नन्दनलाई छटपटी भयो । उनले नेपाल एयरलाइन्समा कार्यरत आफ्नो दाइ इन्जिनियर चन्दनलाई फोन गरे । चन्दन त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमै थिए । नन्दनको कुरा सुनेर दाइ चन्दन पनि चकित परे । चन्दनले बाराको पथलैयामा रहेका मामा शम्भु मण्डललाई फोन गरेर सबै कुरा सुनाए ।

मण्डलले तत्कालै विमानस्थलको वेटिङ कक्षमा रहेका भान्जा नन्दनसंग कुरा गरे । नन्दनले मामासंग भक्कानिदै आफू अष्ट्रेलिया नफर्कने र नेपालमै बसेर खेल्ने इच्छा रहेको सुनाए । भान्जाको कुरा सुनेर मण्डल समेत भावुक भए । उनले भान्जालाई विमानस्थलबाट घर फर्कन हौसला दिए ।

मण्डललगत्तै आमा समिराले पनि नन्दनलाई फोन गरिन् । समिराले पनि नन्दनलाई आफ्नो इच्छा जहाँ छ त्यही बसेर खेल्न सुझाव दिईन् । विमानस्थलमै रहेका दाइ चन्दनले पनि सम्झाए । सबैको हौसलापछि नन्दन अष्ट्रेलियाको जहाज छोडेर घर फर्किए । दाइ चन्दनले चेकिङ गरेर भित्र लगिसकेको नन्दनको लगेज समेत फिर्ता ल्याइदिए ।

विमानस्थलबाट देशका लागि खेल्ने सपना बोकेर घर फर्किएका नन्दनले त्यसको दुई महिनापछि ४९औ क्याप लगाउँदै पहिलो अन्र्तराष्ट्रिय टी–२० खेल्ने अवसर पाए । आईसीसी टी–२० विश्वकप छनौटको तयारी लागि हङकङमा आयोजना गरिएको सिरिज खेल्ने टोलीमा उनी परेका थिए । उक्त सिरिज अन्तर्गत चार खेल खेलेका नन्दनले ६ विकेट लिए भने कुवेतविरुद्ध ३७ रन पनि बनाए । उक्त सिरिजमा नेपालसहित कुवेत, हङकङ र कतार सहभागी थिए ।

उक्त सिरिजपछि नेपालको राष्ट्रिय क्याम्पमा परेका नन्दन आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्ने टोलीमा छनोट हुँदै स्कटल्याण्ड गएका थिए । अघिल्लो तीन खेलमा अवसर नपाएका उनले चौथो खेलमार्फत डेब्यु गरेका हुन् । उक्त खेलमै नन्दनले आफ्नो क्षमता देखाएका छन् । उनको शानदार प्रदर्शनले देशभर चर्चा बटुलिरहँदा पथलैयामा रहेका मामा शम्भु पनि निकै भावुक बनेका छन् ।

‘देशका लागि खेल्ने भान्जाको ठूलो सपना थियो । उनले आफ्नो सपना पूरा गरेका छन्’ मण्डलले भने ‘त्यो भन्दा बढी देशको जितमा महत्वपूर्ण योगदान गरेका छन्, त्यसले हामीलाई निकै खुशी तुल्याएको छ ।’

भान्जाको प्रदर्शनले हौसिएका शम्भु नन्दनको क्रिकेट यात्रामा सहयोग गर्ने महत्वपूर्ण पात्र हुन् । उनले नन्दनलाई सानैदेखि हौसला दिँदै आएका थिए । नन्दन पथलैयास्थित मामाघरमै जन्मिएका थिए । उनको घर सिरहाको बरियारपट्टी गाउँपालिका ४ तेनुवापट्टी हो ।

नन्दनले कक्षा १० सम्मको अध्ययन लहानको सारदा इङलिस बोर्डिङ स्कुलबाट गरेका थिए । त्यसपछि उनले पथलैयास्थित मामाघर बसेर कक्षा ११ र १२ को अध्ययन पूरा गरे । सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट २०७१ सालमा विज्ञान संकायमा कक्षा १२ उतिर्ण गरेका नन्दन त्यसपछि काठमाडौं गए ।

काठमाडौंमा उनले ज्ञानेन्द्र मल्लको काठमाडौं क्रिकेट टे«निङ सेन्टरमा एक वर्ष प्रशिक्षण लिए । त्यसपछि उनी क्रिकेट सिक्नकै लागि दिल्ली पुगे । दिल्लीमा ६ महिना क्रिकेट प्रशिक्षण गरेर नन्दन नेपाल फर्किए ।

२०७२ सालमा मामा शम्भुले नन्दनलाई चितवनको गैंडाकोटस्थित अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड मेनेजमेन्टमा लगेर भर्ना गराए । नन्दनको भर्ना गर्न उनले एक लाख नगद समेत बुझाए । त्यसबाहेक अन्य तयारीमा उनको थुप्रै रकम खर्च भयो ।
नन्दन केही दिन कलेज पनि गए । तर एक साता नवित्दै १९ वर्ष मूनिको एशिया कपको क्याम्पमा परेको खबर आएपछि नन्दन कलेज छोडेर काठमाडौं पुगे । सन् २०१६ मा श्रीलंकामा भएको यु–१९ एशिया कपका लागि नन्दन छनौट पनि भए । राष्ट्रिय टोलीका अहिलेका कप्तान रोहित पौडेल उक्त टिममा सहभागी थिए ।

श्रीलंकाबाट फर्केपछि उनको इन्जिनियरिङको अध्ययन त्यही रोकियो । उनले विभिन्न घरेलु क्रिकेटमा सक्रिय सहभागिता जनाउन थाले । नेपालले भाग लिने विभिन्न अन्तर्राष्ट्रिय क्रिकेटको क्याम्पमा परेपनि त्यसयता उनले खेल्ने अवसर भने पाएनन् ।
अवसर नपाएपछि उनी व्यवसायिक क्रिकेट खेल्न अष्ट्रेलिया उडेका थिए । एनपीएल खेल्न नेपाल आएका उनले अष्ट्रेलिया फर्कने अघिल्लो दिन नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कालाई समेत भेट गरेका थिए । उक्त भेटमा खड्काले नन्दनलाई नेपालमै बसेर क्रिकेट खेल्न सुझाव दिएको समेत बुझिएको छ ।

‘अष्ट्रेलिया उड्ने अघिल्लो दिन भान्जा (नन्दन) ले पारस खड्कासंग पनि भेटेको रहेछ’ नन्दनको भनाईलाई उद्धृत गर्दै मामा शम्भुले भने ‘उक्त भेटमा क्षमता रहेको र देशका लागि खेल्ने सम्भावना समेत बोकेको भन्दै नेपालमै बस्न खड्काले सुझाव दिएका थिए ।’ क्यानका सचिव खड्काको हौसलापछि नन्दन अष्ट्रेलिया फर्कने योजनाबाट पछि हटेर नेपालमै बसेको मामा शम्भुको भनाई छ ।

  • अन्नपूर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस्