मधेशले उचाल्यो यु-१६ राष्ट्रिय क्रिकेटको उपाधि


eShilalekh

३१ जेष्ठ २०८२, शनिबार २२:०३

सिमरा: कर्णाली प्रदेशमा आयोजित यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले उचालेको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा सम्पन्न १६ वर्षमुनिको टिबी शाह स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई सात विकेटले पराजित गर्दै मधेश प्रदेशले उपाधि उचालेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ३३ ओभरमा सबै विकेट गुमाउँदै एक सय १२ रन मात्र बनाउन सक्यो । बागमतीका लागि प्रसिद्ध जैसीले २५ रन, रोहित ठाकुरले २२ रन र आशीष गुप्ताले १७ रन बनाए ।

बागमतीले दिएको एक सय १३ रनको लक्ष्य मधेश प्रदेशले २४.५ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो ।

मधेश प्रदेशका ओपनर आयान मुखियाले अविजित २२ रन बनाए भने पाँचौं नम्बरमा आएका सन्तु मण्डलले आक्रामक ब्याटिङ गर्दै २२ बलमा ४३ रनको उत्कृष्ट योगदान दिए ।

विजेता मधेश प्रदेशलाई कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले एक लाख २५ हजार राशीसहित पुरस्कृत गरे ।

प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट लुम्बिनी प्रदेशका रौनक श्रीवास्तव घोषित भए । यसैगरी मधेश प्रदेशका अभय यादव उत्कृष्ट ब्याटर र उत्कृष्ट बलर घोषित भए । फाइनलको खेलको प्लेयर अफ दि म्याच मधेशका रोहन यादव घोषित भए ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजना, कर्णाली प्रदेश क्रिकेट संघको सहआयोजना तथा सुर्खेत जिल्ला क्रिकेट संघको व्यवस्थापनमा जेठ १९ गतेदेखि प्रतियोगिता सञ्चालनमा आएको हो । प्रतियोगितामा सातवटै प्रदेशका टोलीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्