कलैया उपमहानगरको १५औं नगरसभा सम्पन्न, एक अर्ब ७३ करोडको बजेट प्रस्ताव


eShilalekh

९ असार २०८२, सोमबार २०:०३

कलैयाः कलैया उपमहानगरपालिकाको १५औं नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभाले आर्थिक २०८२।८३ का लागि एक अर्ब ७२ करोड ७३ लाख ८७ हजार बजेट प्रस्ताव गरेको छ ।

नगर प्रमुख विनोद साहले नीति तथा कार्यक्रम र उपप्रमुख रौशन परवीनले बजेट प्रस्तुत गरेका थिए । नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख साहले नगरलाई समृद्ध बनाउने स्पष्ट योजना प्रस्तुत गरेका छन् । ‘शैक्षिक, प्रशासनिक, पर्यटन र पूर्वाधारमा आधारित समृद्ध नगर’ निर्माण गर्ने लक्ष्य दोहोर्याउदै नगर प्रमुख साहले कलैयाको विकासमा प्राथमिकतामा राखेर नगर अघि बढ्ने बताए ।

साहले मानवता मटिअर्वा सडक, कलैया हाट क्षेत्रको पुनर्निर्माण र हरित शहरको अवधारणा कार्यान्वयनका लागि विशेष कार्यक्रम अघि सारिएको जनाए । बजारमा योजना कार्यान्वयन गर्दा कुनै राजनीतिक वा व्यक्तिगत दवाव नमान्ने स्पष्ट पार्दै उनले समुचित विकासमा नगरवासीको साथलाई मूल्यवान् भन्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार, सुशासन र रोजगारी सिर्जनामा आफ्नो प्राथमिकता रहेको बताए ।

उपमहानगरको नयाँ प्रशासनिक भवन र नगर सभागृह यसै वर्ष निर्माण गर्ने घोषणा गर्दै साहले परिणाममुखी काममा लाग्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै प्रमुख प्रशासकीय अधिकृत नाथु साहले नगरसभाबाट पारित नीतिहरू कार्यान्वयनमा ल्याउन सबै कर्मचारी प्रतिबद्ध रहने बताए । नगरसभाको सञ्चालन जिन्सी शाखा प्रमुख नरोत्तम अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्