शहीद थिरबहादुर खड्का स्मृति विद्यालयस्तरीय क्रिकेट कप प्रतियोगिता आजदेखि


eShilalekh

१४ असार २०८२, शनिबार ०६:१६

सिमरा: शहीद थिरबहादुर खड्काको सम्झनामा आयोजना गर्न लागिएको विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता शनिबारदेखि सिमरामा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा ४ औराहस्थित सेज खेल मैदानमा दिउँसो ३ बजे हुनेछ ।

‘शहीद थिर बहादुर खड्का (अमर) स्मृति क्रिकेट कप’ नाम दिइएको प्रतियोगिता सिमरा क्रिकेट क्लबले आयोजना गर्न लागेको हो । प्रतियोगितालाई जीतपुरसिमरा उपमहानगरपालिका र वडा नं. ४ को कार्यालयले सहयोग गरेको छ ।

असार १८ गतेसम्म आयोजना हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । समूह ‘क’ मा जनता मावि, सिमरा पब्लिक इङलिस स्कुल, सेन्ट अल्फोन्सास र नेरामावि सिमरा रहेका छन् भने समूह ‘ख’ मा लोटस एकेडेमी, राष्ट्रिय विभूति, नेरामावि डुमरवाना र नेरामावि औराह रहेका छन्।

प्रतियोगिताको उद्घाटन खेल जनता मावि र नेरामावि सिमराबीच हुने आयोजक क्लबका अध्यक्ष पंकज शर्माले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका खेलहरु सेज खेल मैदान र डुमरवानास्थित प्रगतिशील खेल मैदानमा हुनेछ । डुमरवाना प्रगतिशील युवा क्लब प्रतियोगिताको रणनीतिक साझेदार हो ।

प्रतियोगिताको विषयमा आयोजकले शुक्रबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिका ४ का वडाध्यक्ष भोजबहादुर खत्रीलगायतको उपस्थिति रहेको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै वडाध्यक्ष खत्रीले शहीद थिर बहादुर खड्काको सम्मान गर्न र छात्रछात्रामा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । क्रिकेटमार्फत अनुशासन, स्वास्थ्य र एकताको भावना विकास गर्न सकिने खत्रीको भनाई थियो ।

सहभागी विद्यालयहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने दुई टोलीबीच फाइनल खेल हुनेछ। खेल तालिकाअनुसार हरेक दिन दुईदेखि तीन वटा खेलहरू सञ्चालन हुनेछन्।

प्रतिक्रिया दिनुहोस्