कृष्णा फाउन्डेसन र मधेश क्रिकेट संघबीच एकवर्षे प्रायोजन सम्झौता

सिमराः कृष्णा फाउन्डेसन र मधेश प्रदेश क्रिकेट संघबीच एकवर्षे प्रायोजन सम्झौता भएको छ। सम्झौतापत्रमा फाउन्डेसनका उपाध्यक्ष सुजितकुमार कर्ण र मधेश क्रिकेटका अध्यक्ष सुनिलकुमार महासेठले हस्ताक्षर गरेका छन्। सम्झौतामा आर्थिक विवरण सार्वजनिक गरिएको छैन ।
सहकार्य अन्तर्गत कृष्णा फाउन्डेसनले मधेश प्रदेश क्रिकेट टिमका लागि जर्सी उपलब्ध गराउनेछ । जसमा फाउन्डेसनको नाम अंकित हुनेछ। शैक्षिक परामर्शदाता फाउन्डेसनले खेलकुदको माध्यमबाट शिक्षा र विद्यार्थीबीचको सम्बन्ध सुदृढ बनाउन चाहेको र आगामी दिनमा पनि यो सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले मधेश क्रिकेटले पाएको फाउन्डेसनको साथलाई सराहना गर्दै यस कदमलाई अनुकरणीय भनेका छन्। उनका अनुसार यस्ता प्रायोजनले प्रदेश क्रिकेट संघलाई आत्मनिर्भर बनाउन मद्दत पुर्याउनेछ।
मधेश क्रिकेटका अध्यक्ष महासेठले प्राप्त सहयोग रकम ग्रासरुट क्रिकेट विकासमा खर्चिने जानकारी दिएका छन्। उनका अनुसार हाल १० खेलाडीलाई मासिक तलब दिइँदै आएकोमा अब थप दुई खेलाडीलाई पनि समावेश गरिनेछ।
सम्झौता कार्यक्रममा मधेश प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुभाष जयसवाल, खेलाडी पवन सर्राफ, आदिल आलम, रुपेश सिंहलगायत उपस्थित थिए ।