हैजाको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन प्रसौनी गाउँपालिकाको आग्रह

प्रसौनीः वीरगंज महानगरपालिकामा हैजाको संक्रमण भयावह रूपमा फैलिएको भन्दै प्रसौनी गाउँपालिकाले गाउँबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
वीरगंज महानगरपालिकालगायत पर्सा जिल्लाका विभिन्न स्थानमा हैजाको संक्रमण देखिएको र प्रसौनी गाउँपालिका समेत जोखिमयुक्त रहेको भन्दै गाउँपालिकाले जनस्वास्थ्य सुरक्षाका लागि प्रतिबन्ध र निर्देशन जारी गरेको हो।
गाउँपालिकाले बजार क्षेत्रमा स्वास्थ्य जोखिम न्यूनीकरणका लागि चटपटे, पानीपुरी, चाट, माछालगायतका खाद्य पदार्थ बिक्री तथा वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ। साथै होटल तथा खानेपानी विक्रेताहरुलाई खाद्य पदार्थ सफा र सुरक्षित तरिकाले भण्डारण र बिक्री गर्न आग्रह गरिएको छ।
गाउँपालिकाले दिसापिसाब जथाभावी नगर्न, खाना खानु अघि साबुन पानीले हात धुन, उमालेको वा शुद्ध पानी मात्र पिउन अनुरोध गरेको छ । गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जैसवालले गाउँबासीलाई सतर्क रहन र स्वास्थ्य सुरक्षाका उपायहरू पालना गर्न आग्रह गर्दै हैजाको संक्रमण फैलिन नदिन सबैको सक्रिय सहयोग आवश्यक रहेको बताएका छन् ।
