निलम्बन फुकुवापछि आदिलको पहिलो अन्तर्राष्ट्रिय यात्रा

सिमरा: स्पट फिक्सिङको आरोपपछि करिब तीन वर्ष मैदान बाहिर रहेका अलराउण्डर क्रिकेटर महमद आदिल आलम (आदिल अंसारी) फेरि राष्ट्रिय टोलीमा फर्किएका छन् । भारतको गुवाहटीमा आसाम राज्यविरुद्ध हुने टी–२० सिरिजमार्फत उनले नेपालको ‘ए’ टिमबाट पुनरागमन गर्ने भएका हुन्।
नेपाल क्रिकेट एसोशिएसन (क्यान)ले घोषणा गरेको १६ सदस्यीय टोलीमा बारा सिम्रौनगढका आदिल पनि परेका छन्। दुई वर्ष सात महिनापछि उनले नेपाल ‘ए’ टिममार्फत राष्ट्रिय जर्सीमा फर्कने अवसर पाएका हुन्।
यस सिरिजमा अनिल साहलाई कप्तान तोकिएको छ। अष्ट्रेलियामा हुने टप इण्ड टी–२० सिरिजको टोलीमा स्थान नपाएका अनिललाई नेतृत्व दिँदै क्यानले भारत पठाउन लागेको हो।
२०७९ पुसमा नेपाल टी–२० लिगका दुई खेलमा स्पट फिक्सिङ गरेको आरोपमा आदिलसहित केही खेलाडीमाथि मुद्दा दायर भएको थियो। तर पर्याप्त प्रमाण नपुगेको भन्दै काठमाडौं जिल्ला अदालतले २०८० चैत १२ गते उनलाई सफाइ दिएको थियो। अदालतको निर्णयपछि पनि क्यान र आईसीसीबाट निलम्बन फुकुवा पाउन आदिललाई अझै दुई वर्ष पर्खनुपरेको थियो। क्यानले २०८२ बैशाख २१ गते मात्र उनको निलम्बन हटाएको हो।
यो अवधिभर उनले अभ्यास रोकेनन्। क्रिकेटमै व्यस्त रहँदै भारतका विभिन्न स्थानमा खेले। त्यसकै परिणामस्वरूप दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा उनले धमाकेदार कमब्याक गरे। २०८२ साउन २४ गते भएको मिनि अक्सनमा आठै टोलीले आदिललाई बोली लगाएका थिए। अन्ततः काठमाडौं गुर्खाजले १५ लाखमा उनलाई आफ्नो टोलीमा भित्र्यायो।
३१ महिनापछि राष्ट्रिय टोलीमा फर्किएकोबारे आदिल भन्छन्यो ‘मेरो जीवनकै कठिन समय थियो। तर परिवार, साथी र फ्यानको साथले म पुनः फर्किन सफल भएँ। अब मेहनत गरेर राम्रो प्रदर्शन गर्ने लक्ष्य छ।’ आदिलको अन्तर्राष्ट्रिय रेकर्डमा हालसम्म ६ एक दिवसीय खेलमा ७० रन र ६ विकेट तथा ८ टी–२० खेलमा एक सय १० रन र पाँच विकेट लिएका छन् । उनी विस्फोटक ब्याटिङका लागि परिचित छन्।
एनपीएलमा सबै टिमले बोली लगाएपछि उनलाई थप आत्मविश्वास दिलाएको छ। ‘सुरुमा केही टिमले मात्र इच्छुक होलान् भन्ने लागेको थियो, तर सबैले बोली लगाएपछि निकै खुशी लाग्यो। यो विश्वास कायम राख्न अझ बढी मेहनत गर्नेछु’ उनले भने।