सिमरामा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा

सिमराः सिमरामा नेपोभिट जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक सिमरा भेट्रान क्लबले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै सिमरा रंगशालामा हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको बारेमा जानकारी गराएको हो ।
आयोजकका अनुसार भदौ २१ गतेदेखि हुने उक्त प्रतियोगितामा ८ वटा टिमको सहभागीता रहनेछ । प्रतियोगितामा नेपाल पुलिस क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, मोरङ जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, धरान सिटी फुटबल क्लब, भारतको दार्जिलिङस्थित कुरुसङ गर्लस फुटबल एकेडेमी र आयोजक सिमरा भेट्रान क्लबले सहभागिता जनाउने छन् ।
प्रतियोगिताका विजेता टोलीले ५ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ तथा उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, फरवार्ड र प्रशिक्षकलाई जनही १०–१० हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।
खेलहरू रात्री समयमा आयोजना गरिने छ भने प्रतियोगिताको उद्घाटन कार्यक्रम उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले गर्नेछन् ।
जीतपुरसिमरा उपमहानगरपालिका प्रतियोगिताको मुख्य सहयोगी संस्थाको रूपमा रहेको छ ।