नेपाल तेक्वान्दो संघको अधिवेशन सम्पन्न, अध्यक्षमा गुरुङ चयन


eShilalekh

१२ आश्विन २०८२, आईतवार २०:०९

सौराहा: नेपाल तेक्वान्दो संघको अध्यक्षमा दीपराज गुरुङ चयन भएका छन् । चितवनको सौराहामा आइतबार सम्पन्न संघको पाँचौ अधिवेशनले गुरुङको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा नन्दकुमार राई, दिलबहादुर ओली, भानुबहादुर चन्दलाई चयन गरिएको छ भने कोषाध्यक्षमा कासिम मियाँलाई निरन्तरता दिइएको छ ।

यसैगरी सदस्यमा कोसिस खड्का, रवि थापा, मदन केसी, नन्दा बस्याल, गुरुप्रसाद गौतम, कुमार लामा घिसिङ, सुमन पराजुली, टीकाप्रसाद लिम्बू, श्रीमान थापामगर, रामचन्द्र श्रेष्ठ, विजयकुमार न्यौपाने, बब्लु शिवाकोटी, प्रेमबहादुर भण्डारी र हेमन्त डांगी चयन भएका छन् । चन्द, बस्याल र श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य हुन् ।

यता सदस्यमा निर्वाचित डांगीलाई नवनिर्वाचित अध्यक्ष गुरुङले महासचिवमा मनोनीत गरेका छन् । निर्वाचित सदस्य मध्येबाट अध्यक्षले महासचिव निर्वाचित गर्न सक्ने प्रावधान संघको विधानमा छ ।

निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमुख निर्वाचन अधिकृत सरोज पोखरेलले सपथ ग्रहण गराएका थिए भने निर्वाचन अधिकृत चन्द्र राई, सानुबाबु केसी, निवर्तमान अध्यक्ष प्रकाश शमशेर राणालगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

सपथ ग्रहणपछि नवनिर्वाचित अध्यक्ष गुरुङले तेक्वान्दो खेलको विकासलाई ध्यानमा राखेर एकेडेमी निर्माण गर्ने प्रतिबद्धता जनाए । उनले अनुशासनलाई प्राथमिकतामा राख्न संघका पदाधिकारी, खेलाडी, प्रशिक्षकलाई आग्रह गरे ।

अन्नपूर्णकर्मी थापा सम्मानित

अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका खेल पत्रकार बिष्णु थापा आइतबार सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघको पाचौं केन्द्रीय अधिवेशनमा पत्रकार थापालाई सम्मान गरिएको हो ।

अधिवेशनको उद्घाटन समारोहमा संघका केन्द्रीय अध्यक्ष प्रकाश शमशेर राणा र कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य जगतसिंह धामीले थापालाई सम्मान गरेका थिए ।

पत्रकारिताको माध्यमबाट तेक्वान्दो खेलको विकासका लागि योगदान गरेको भन्दै थापालाई सम्मान गरिएको हो । पत्रकार थापा अन्नपूर्ण पोष्ट दैनिकका खेल डेस्कका प्रमुख हुन् ।

अधिवेशनको उद्घाटन समारोहमा संघले सिन्धुपाल्चोकका पूर्व जिल्ला अध्यक्ष प्रेमबहादुर भण्डारी, भक्तपुरका श्याम तजले, कन्चनपुरका ज्ञानेन्द्र सिंह र मलेसियामा बसोबास गर्दै आएका सन्तोष भट्टलाई समेत सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्