एन्फा प्रेसिडेन्ट लिगमा नव जनजागृति युवा क्लब सिमराको पहिलो जित

सिमराः हेटौडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा नव जनजागृति युवा क्लब सिमराले पहिलो जित दर्ता गरेको छ । गौरीटार रंगशालामा सोमबार भएको खेलमा नव जनजागृति सिमराले गाईघाट फूटबल क्लबलाई २–० ले पराजित गरेको हो ।
नव जनजागृतिको जितमा रुजन न्यौपाने र विकास दर्लामी मगरले गोल गरेका थिए । खेलको प्लेयर अफ दि म्याच नव जनजागृति युवा क्लबका अभिनाश स्याङतान घोषित भए । उनले पाँच हजार नगद प्राप्त गरे ।
लिगको आफ्नो पहिलो खेलमा काक्रे बिहार युवा क्लब सुर्खेतसंग १–१ को बराबरी खेलेको नव जनजागृतिले दोस्रो खेलमा जित निकालेको हो ।

प्रतियोगितामा जिल्ला लिग, प्रदेश लिग च्याम्पियन हुँदै प्रेसिडेन्ट लिगका लागि छनौट भएका देशभरका १० टिमको सहभागिता रहेको छ । अखिल नेपाल फूटबल संघ (एन्फा) ले आयोजना गरेको लिगको सेमिफाइनलमा पुग्ने चार टोली राष्ट्रिय लिगका लागि छनौट हुनेछन् ।
लिग मंसिर २ गतेसम्म संचालन हुनेछ ।





