अक्षरा अन्तरविद्यालय महिला क्रिकेटः सिमरा पब्लिक, एक्स सर्भिसम्यान र पाथीभरा स्कुल बिजयी

सिमराः बाराको सिमरामा जारी प्रथम अक्षरा अन्तरविद्यालय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार तीन खेल सम्पन्न भएका छन् ।
औराहस्थित सेज क्रिकेट मैदानमा भएको खेलमा सिमरा पब्लिक इङ्लिस स्कुल, एक्स सर्भिसम्यान चिल्ड्रेन एकेडेमी र पाथीभरा इङ्लिस बोर्डिङ स्कुल बिजयी भएका हुन् ।
पहिलो खेलमा सिमरा पब्लिकले लोटस एकेडेमीलाई आठ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको सिमरा पब्लिकले निर्धारित १० ओभरको खेलमा दुई विकेट गुमाउँदै ७४ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको लोटस एकेडेमीले १० ओभरमा चार विकेट गुमाएर ६६ रन मात्र जोड्न सक्यो । खेलको प्लेयर अफ दि म्याच सिमरा पब्लिककी विनिशा लामिछाने घोषित भईन् ।
यसैगरी दोस्रो खेलमा एक्स सर्भिसम्यानले एकता स्कुललाई १३ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको एक्स सर्भिसम्यानले १० ओभरमा पाँच विकेट गुमाउँदै ७७ रन जोडेको थियो । एक्स सर्भिसम्यानका लागि आइरिष घलेले २५ र अनु वाईवाले १७ रन जोडिन् ।
७८ रनको लक्ष्य पछ्याउनमा मैदानमा उत्रिएको एकता ६४ रनमै रोकियो । एकताले १० ओभरमा ६ विकेट गुमाएर ६४ रन जोडेको थियो । खेलको प्लेयर अफ दि म्याच एक्स सर्भिसम्यानकी आइरिष घले घोषित भईन् ।
तेस्रो खेलमा पाथीभराले सेन्ट जोन्स स्कुललाई ९ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको सेन्ट जोन्सले १० ओभरमा ८ विकेट गुमाउँदै ४१ रन जोडेको थियो । जवाफी ब्याटिङमा उत्रिएको पाथीभराले एक विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । खेलको प्लेयर अफ दि म्याच पाथीभराकी मनुजा खड्का घोषित भईन् ।
सिमरास्थित अक्षरा पाठशालाले आयोजना गरेको प्रतियोगितामा १० विद्यालयको सहभागिता रहेको छ ।





