अक्षरा अन्तरविद्यालय महिला क्रिकेटको सेमिफाइनल समीकरण पूरा


eShilalekh

२७ कार्तिक २०८२, बिहीबार १९:२०

सिमराः प्रथम अक्षरा अन्तरविद्यालय महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बाराको सिमरास्थित सेज क्रिकेट मैदानमा बिहीबार लिग चरणका अन्तिम खेलहरु सम्पन्न भएसंगै सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो ।

आयोजक अक्षरा पाठशालासहित सिमरा पब्लिक इङ्लिस स्कुल (एसपीईएस), पाथीभरा इङ्लिस स्कुल र एक्स सर्भिसम्यान चिल्ड्रेन एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका हुन् । समूह ‘ए’ बाट एसपीईएस र एक्स सर्भिसम्यान, समूह ‘बी’ बाट पाथीभरा र समूह ‘सी’ बाट आयोजक अक्षराले अन्तिम चारमा स्थान बनाएका हुन् ।

सेमिफाइनल अन्तर्गत शुक्रबार पहिलो खेलमा एसपीईएस र पाथीभरा स्कुल भिड्नेछन् भने दोस्रो खेलमा अक्षरा र एक्स सर्भिसम्यान खेल्नेछन् ।

प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा बिहीबार एसपीईएस, एक्स सर्भिसम्यान र राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन बिजयी भएका छन् । एसपीईएसले एकता स्कुललाई ३२ रनले पराजित गरेको थियो भने एक्स सर्भिसम्यानले लोटस एकेडेमीलाई पाँच रनले हराएको थियो । यसैगरी प्रतियोगिताबाट बाहिरिसकेको राष्ट्रिय विभूतिले मिसन एकेडेमीलाई ५२ रनले पराजित गरेको थियो ।

प्रतियोगिता अन्तर्गतको फाइनल खेल शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्