जीतपुरसिमरामा कांग्रेसले तालमेल नगर्ने, दुवै पदमा प्रतिस्पर्धा गर्ने


eShilalekh

८ बैशाख २०७९, बिहीबार ११:५९

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकामा नेपाली कांग्रेसले केन्द्रीय गठबन्धनको निर्णयलाई नस्विकार्ने भएको छ । उपमहानगरपालिकाको नगर प्रमुख पद नेकपा माओवादी केन्द्रलाई दिने केन्द्रीय गठबन्धनको निर्णयलाई कांग्रेसले नमान्ने भएको हो ।

केन्द्रीय गठबन्धनको निर्णयले रुष्ट देखिएको कांग्रेसको आफ्नो चुनावी गतिविधि अघि बढाउन थालेको छ । सत्तारुढ दलबीचको गठबन्धनका कारण अन्यौलमा देखिएको कांग्रेसले उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदका लागि आकांक्षीको नाम समेत सिफारिस गरेको छ ।

कांग्रेस नगर समितिको बुधवार बसेको बैठकले प्रमुखमा ११ र उपप्रमुखमा १३ जनाको नाम सिफारिस गरेको हो । केन्द्रीय गठबन्धनको निर्णयबाट असन्तुष्ट देखिएको कांग्रेस नगर समितिले बैठक बोलाउदै प्रमुख र उपप्रमुखको आकांक्षी नाम माग गरेको थियो ।

बैठकमा प्रमुख पदका लागि श्यामबाबु गुप्ता, कृष्णव्रत सिंह, नारायणी रायमाझी, शोभाकर पराजुली, ओमकृष्ण कार्की, सुमनकुमार भट्टराई, टिकाराम पौडेल, माधव उपाध्याय, रुद्र पौडेल, देवेन्द्र उपाध्याय र गंगा काफ्ले आकांक्षा देखाएका छन् । यसैगरी उपप्रमुख पदका लागि गिता शर्मा, राधादेवी साह, मेघा शाही, रिता रिजाल, रामबाबु गुप्ता, छविलाल शर्मा, रेशम तिवारी, शरदचन्द्र भट्टराई, राजमणि बराल र श्यामबाबु सिंह भूमिहार आकांक्षी देखिएका छन् ।

आकांक्षी सबैको नाम सिफारिस गर्ने निर्णय भएको नगर सभापति छविलाल शर्माले जानकारी दिए । कांग्रेसले कसैसंग तालमेल नगरेर एक्लै चुनाव लड्ने निर्णयमा पुगेको र सोही अनुसार आकांक्षीको नाम सिफारिस गरिएको बताए । ‘हाम्रो कसैसंग तालमेल हुदैन, हामी एक्लै चुनाव लड्ने हो’ शर्माले इशिलालेखसंग भने ‘त्यसै अनुसार हामीले तयारी सुरु गरेका छौ ।’

केन्द्रीय गठबन्धनले भागबण्डाको निर्णय गर्न ढिलाई गर्दा कांग्रेस अन्यौलमा देखिएको थियो । नगर सभापति शर्माले उपमहानगरपालिकाभित्रको २४ वटै वडामा उम्मेदवार चयन प्रक्रिया समेत अगाडी बढाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्