एनएसटी निर्वाचनमा डुमरवानाका मैनालीः ‘आर्थिक पारदर्शिता र नयाँ सोचसहित कोषाध्यक्षको यात्रा’

टेक्सास (अमेरिका): अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्ने नेपाली समुदाय अहिले चुनावी उत्साहले तातेको छ। नेपाली समाज टेक्सास (एनएसटी) को आगामी २०२५–२०२७ कार्यकालका लागि डिसेम्बर १३ मा हुने निर्वाचन नजिकिँदै जाँदा विभिन्न प्यानल र उम्मेदवारको अभियानले समुदायमा विशेष चर्चा पाएको छ।
करिब ६ हजार दुई सय सदस्य रहेको एनएसटी टेक्सासका नेपालीहरूको सबैभन्दा ठूलो गैरनाफामूलक संस्था हो । विभिन्न पेशा, ठेगाना र पृष्ठभूमिबाट आएका नेपालीहरूलाई एकै छानामुनि जोड्ने यस संस्थाको नेतृत्व चयनले समुदायको मार्गचित्रमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले यो चुनावले ठूलो ध्यान खिचिरहेको छ।
यसै निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको प्यानलबाट बारा जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवानाका भोला मैनाली कोषाध्यक्ष पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन् । नेपाल-भारत सीमा नजिकैको तराई गाउँमा जन्मेर हुर्किएका मैनाली आज टेक्सासको फोर्ट वर्थ हास्लेट क्षेत्रमा स्थायी रूपमा बसोबास गर्दै आएका छन्।
गाउँकै विद्यालयमा प्रवेशिका (एसएलसी) अध्ययन पूरा गरेका मैनालीले हेटौंडामा स्नातक तह उतिर्ण गरेका थिए । वित्त, व्यवस्थापन र लेखामा रुचि बढ्दै गएपछि र उनले काठमाडौंबाट चार्टर एकाउन्टेन्टको अध्ययन गरे ।
हाल उनी अमेरिकामा सूचना प्रविधि तथा डेटाबेस फिल्डमा कार्यरत छन् । जसले आर्थिक व्यवस्थापनसंगै प्रविधिगत पारदर्शितामा समेत थप योगदान दिने विश्वास उनी व्यक्त गर्छन्। मैनालीले हाल एनएसटीको प्रमुख आयस्रोत सदस्यता शुल्क र अनुदान (डोनेशन) मात्र रहेको र आगामी दिनमा स्थानीय व्यवसायी, व्यावसायिक समूह, तथा विभिन्न संघसंस्थासँग सहकार्य गर्दै आम्दानीको नयाँ स्रोत पहिचान र विस्तार गर्ने आफ्नो योजना रहेको बताउछन् ।
‘आर्थिक पारदर्शितालाई विशेष महत्व दिनेछु । समुदायका विज्ञहरुसंग सल्लाह लिएर कोषको उचित परिचालन गर्न चाहन्छु। यही उद्देश्यले मैले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ’ मैनालीले भने ‘आफूलाई विश्वास गरेर जिम्मेवारी दिनेलाई निराश पार्दिन।’
उनले हरेक तीन महिनामा संस्थाको आर्थिक विवरण एनएसटीको आधिकारिक वेबसाइट मार्फत सार्वजनिक गर्ने योजना रहेको बताए । सामाजिक तथा आर्थिक क्षेत्रमा सक्रिय मैनाली खेलकुदमा पनि उत्तिकै रुचि राख्छन्। हाल उनी हास्लेट भलीबल टिमका सक्रिय खेलाडी समेत हुन्।





