राष्ट्रिय विभूतिलाई चौथोपटक पाथीभरा अन्तरविद्यालय पुरुष भलिबलको उपाधि


eShilalekh

२० मंसिर २०८२, शनिबार १६:२१

सिमराः राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनले चौथो पटक पाथीभरा अन्तरविद्यालय पुरुष भलिबल प्रतियोगिताको उपाधि उचालेको छ । शनिबार भएको फाइनल खेलमा एक्स सर्भिसम्यान चिल्ड्रेन एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै विभूतिले उपाधि उचालेको हो ।

विभूतिलाई चौथो संस्करणको उपाधि दिलाउने क्रममा सिद्धान्त चौधरीले उत्कृष्ट प्रदर्शन गरे । उनि खेलको फाइनल खेलको प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विभूतिकै प्रितमबाबु राय घोषित भए । यसैगरी उदयीमान खेलाडी एक्स सर्भिसम्यानका प्रशान्त चौधरी घोषित भए ।

विजेता तथा उपविजेता खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, सिमरा कलेजका सहप्राध्यापक शालिकराम अधिकारी, सिमरा डुमरवाना हबका संयोजक बसन्त ढकाल, पाथीभरा स्कुलका प्रिन्सिपल लक्की रिमाललगायतले पुरस्कार वितरण गरेका थिए ।

फाइनल खेलको समापन समारोहलाई सम्बोधन गर्दै नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले देशको राष्ट्रिय खेल भलिबलप्रतिको आकर्षणलाई दक्ष खेलाडी उत्पादनतर्फ डोहोर्याउनुपर्ने बताए । निजी विद्यालयहरुले गरिरहेको प्रयासको आफूले प्रशंसा गर्ने बताउँदै अधिकारीले नगरका तर्फबाट हुने सहयोग पनि गर्ने बताए ।

प्रतियोगितामा सिमरा र डुमरवानाका ११ वटा निजी विद्यालयको सहभागिता रहेको थियो । सिमरा र डुमरवानाका १२ निजी विद्यालयको सहभागितामा सिमरा डुमरवाना हब गठन गरिएको छ । उक्त हब अन्तर्गत रहेका विद्यालयले प्रत्येक वर्ष खेलकुद र शिक्षामा दुई वटा कार्यक्रम अनिवार्य गर्नुपर्ने हुन्छ । सोही कार्यक्रम अन्तर्गत पाथीभराले भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

सिमरा डुमरवाना हबका संयोजक ढकालले विद्यार्थीलाई अध्ययनसंगै खेलकुद र रचनात्मक गतिविधिमा समेत अब्बल बनाउनका लागि वार्षिक कार्यतालिका बनाएर अघि बढिरहेको बताए । पाथीभराका प्रिन्सिपल रिमालले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

समापन समारोहमा राष्ट्रिय विभूतिका निर्देशक श्यामप्रसाद भट्टराई, प्रिन्सिपल सागर ठाडामगर, अक्षरा पाठशालाका प्रिन्सिपल नरेन्द्र तामाङ, नवराज न्यौपाने, धनन्जय थोकर, श्रवन गुप्ता, लक्ष्मण अधिकारी, द्धारिकाराज पौडेल, विकास बिडारीलगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने आरके यादवले स्वागत मन्तव्य राखेका थिए ।

सर्वोत्कृष्ट खेलाडी प्रितमबाबु राय
उदयीमान खेलाडी प्रशान्त चौधरी

प्लेयर अफ दि म्याच सिद्धान्त चौधरी

प्रतिक्रिया दिनुहोस्