माओवादी केन्द्र: प्रमुखमा पौडेल र उपप्रमुखमा तीन जनाको नाम सिफारिस


eShilalekh

८ बैशाख २०७९, बिहीबार २१:५९

सिमरा: नेकपा माओवादी केन्द्रको नगर कमिटीले जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख पदका लागि आकांक्षा देखाएका आठ जनामध्ये राजन पौडेलको नाम मात्रै सिफारिस गरेको छ ।

उम्मेदवार चयनका लागि आईतवार बसेको नगर कमिटीको बैठकमा प्रमुख पदका लागि दावी प्रस्तुत गरेका आठमध्ये पौडेलको नाम मात्रै सिफारिस गरेको हो । पौडेल अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि माओवादी केन्द्रबाट प्रमुख पदको उम्मेदवार बनेका थिए ।

नगर कमिटीले पौडेलको नाम मात्रै सिफारिस गरेपछि प्रमुख पदका लागि दावी प्रस्तुत गरेका अन्य केही आकांक्षी भने रुष्ट देखिएका छन् । नगर कमिटीका अध्यक्ष प्रेम बरालले आकांक्षीहरुबीच सहमती गराउने प्रयास सफल हुन नसकेपछि नगर कमिटीको बहुमत सदस्यले दिएको म्याण्डेड अनुसार पौडेलको नाम सिफारिस गरिएको बताए ।

‘सर्वसम्मत् नाम पठाउनका लागि आकांक्षीबीच छलफल गरेका थियौ । तर सहमती जुटन नसकेपछि मैले नगर कमिटीका सदस्यहरुको माग बमोजिम उहाँ (राजन पौडेल) को नाम सिफारिस गरेको हु’ बरालले इशिलालेखसंग भने ‘नगर कमिटीका सदस्यले उहाँको नाम मात्रै पठाउनका लागि दवाव दिएको र सोही अनुसार गरिएको हो ।’

प्रमुख पदका लागि आकांक्षा देखाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका श्रेत्रबहादुर श्रेष्ठले सबैको नाम सिफारिस गर्न नगर कमिटी अध्यक्ष बराललाई आग्रह गरेका थिए । पौडेलको नाममात्रै पठाउन श्रेष्ठले सहमती जनाएका थिएनन् । तर बरालले आफूलाई नगर कमिटीबाट उक्त अधिकार प्राप्त नभएको भन्दै श्रेष्ठको आग्रहलाई अस्विकार गरेका थिए ।

प्रमुख पदकै लागी आकांक्षा देखाएका संविधान सभा सदस्य जयाराम दाहालले नाम सिफारिस गर्नु अघि आफूहरुसंग छलफल नभएको बताए । ‘हामीसंग छलफल भएको छैन्, सिफारिस गरिएको विषयमा जानकारी पनि दिइएको छैन्’ दहालले भने ।

आकांक्षीमध्ये केहीले भने नगर कमिटीका अधिकांश सदस्यको माग बमोजिम पौडेलको नाम सिफारिस भएको प्रतिक्रिया दिए । ‘नगर कमिटीका अधिकांश सदस्यहरुले उहाँकै नाम मात्रै सिफारिस गर्न माग गरेका थिए’ प्रमुख पदमा दावी प्रस्तुत गरेका रामशरण बर्तौलाले भने ‘उहाँको मात्रै नाम सिफारिस भएकोमा मलाई आपत्ती छैन् ।’

प्रमुख पदका लागि पौडेल, श्रेष्ठ, दाहाल, बर्तौलासहित धनबहादुर श्रेष्ठ, गिता कंडेल, शिला खनाल र रामराज चौधरीले आकांक्षा देखाएका थिए ।

उपप्रमुखमा तीन जनाको नाम सिफारिस
नेकपा माओवादी केन्द्रले जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख पदका लागि तीन जनाको नाम सिफारिस गरेको छ । उपप्रमुख पदका लागि आकांक्षा देखाएका चारमध्ये रोमा चौधरी, शिवशंकर चौधरी र क्यामुदिन मन्सुरीको नाम सिफारिस गरेको हो ।

नगर कमिटी अध्यक्ष बरालले आफ्नो नामबाहेक अन्य तीन जनाको नाम सिफारिस गरेका हुन् । यसअघि उनिसहित चार जनाले दावी प्रस्तुत गरेका थिए ।

पाँच दलीय गठबन्धनले माओवादी केन्द्रलाई प्रमुख र कांग्रेसलाई उपप्रमुख पदमा उम्मेदवारी दिने गरी भागबण्डा गरेको थियो । तर माओवादी केन्द्रले भने प्रमुखसहित उपप्रमुखको नाम समेत सिफारिस गरेको हो ।

यसअघि भागबण्डाबाट उपप्रमुख पद पाएको कांग्रेसले प्रमुखमा ११ र उपप्रमुखमा १३ जनाको नाम सिफारिस गरिसकेको छ । कांग्रेसले गठबन्धनको निर्णय अस्विकार गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्