जीतपुरसिमरामा कांग्रेस, जसपा र जनमोर्चाको छुट्टै गठबन्धन हुने


eShilalekh

११ बैशाख २०७९, आईतवार २२:३०

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले छुट्टै गठबन्धन गरेर निर्वाचनमा सहभागी हुने निर्णय गरेका छन् । गठबन्धनभित्रको अर्को दल नेकपा माओवादी केन्द्र एकलौटी ढंगले अघि बढ्न खोजेको भन्दै कांग्रेस, जसपा र जनमोर्चा सम्मिलित तीन दलले केन्द्रीय गठबन्धन तोड्ने निर्णय गरेको हो ।

माओवादी केन्द्र गठबन्धनको मर्म विपरित एकलौटी ढंगले अघि बढ्न खोजेको भन्दै तीन दलले जीतपुरसिमरा उपमहानगरपालिकामा सहमतीका आधारमा उम्मेदवार तयार गरेर निर्वाचनमा सहभागी हुने निष्कर्ष निकालेका छन् । नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीका प्रतिनिधि बाहेक आईतवार बसेको तीन दलको बैठकले आपसी सहमतीमा उम्मेदवार टुंग्याएर निर्वाचन लड्ने निर्णयसहित विज्ञप्ती समेत जारी गरेका छन् ।

विज्ञप्तीमा कांग्रेस नगर सभापति छविलाल शर्मा, जसपा केन्द्रीय सदस्य भरत खड्का र जनमोर्चाका केन्द्रीय सदस्य धर्मानन्द सुवेदीले हस्ताक्षर गरेका छन् । तीन दलका नेताले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ ‘गठबन्धन भनेको वडादेखी नै हनुपर्ने, मेयर पाउने पार्टीले बढी लचकता देखाउनुपर्नेमा गठबन्धनको भावना र शक्ती सन्तुलनको नियम विपरित नेकपा माओवादीले आफ्नो गतिविधि बढाएकाले माओवादी बाहेकका गठबन्धनका अन्य दलले छुट्टै मेयरका उम्मेदवार खडा गरी प्रत्येक वडा तहसम्म गठबन्धन गर्ने निर्णय गरियो । ‘

केन्द्रीय गठबन्धनको निर्णय बमोजिम प्रमुख पद पाएको माओवादी केन्द्र एकलौटी ढंगबाट अघि बढ्न खोजेको र वडातहमा आफ्नै उम्मेदवार खडा गरेको हुँदा उक्त कार्य गठबन्धनको मर्म विपरित रहेको कांग्रेस नगर सभापति छविलाल शर्माले बताए । एकिकृत समाजवादीका प्रतिनिधि उपस्थित नभएको उक्त बैठकमा तीन दलबीच नगर प्रमुख, उपप्रमुखसहित वडा तहसम्मै भागबण्डा गरेर अघि बढ्ने सहमती भएको शर्माले जानकारी दिए ।

केन्द्रीय गठबन्धनले उपमहानगरपालिकाको प्रमुख पद माओवादी र उपप्रमुख पद कांग्रेसलाई दिने निर्णय गरेको थियो । उक्त निर्णय अस्विकार गर्ने बताउदै आएको कांगेसको नगर समितिले अन्ततः उपमेयरसहित वडातहमा भागबण्डा गरेर अघि बढ्न सहमत देखिएको थियो । कांग्रेसले सहमती जनाएसंगै वडातहको भागबण्डाका लागि पाँच दलबीच छलफल भएपनि निष्कर्षमा पुग्न सकेको थिएन् ।

भागबण्डाका लागि बसेको बैठकमा माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा बिजयी भएको १० सहित थप तीन वडामा दावी गरेको थियो । जनता समाजवादीले १२ र एकिकृत समाजवादीले १० वटा वडा दाबी गर्दा जनमोर्चाले तीन वटा वडा माग गरेको थियो । कांग्रेसले भने १५ वटा वडा आफूले पाउनुपर्ने अडान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्