वीरगन्जमा सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागूऔषध नाईट्राभेट बरामद

वीरगन्जः सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिका १६ स्थित इनर्वाबाट बिहीबार बिहान ठूलो परिमाणमा लागूऔषध नाईट्राभेट ट्याब्लेट बरामद गरेको छ ।
इनर्वास्थित पोखरीको डिलमा बेवारिसे अवस्थामा रहेको प्लास्टिकको बोरा भित्रबाट सशस्त्र प्रहरीले ११ हजार ६८ पिस नाईट्राभेट ट्याब्लेट बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म हेडक्वाटर वीरगन्जबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेको प्लास्टिकको बोरा खोलेर जाँच गर्दा सात सय ३८ पत्तामा राखिएको ११ हजार ६८ पिस नाईट्राभेट ट्याब्लेट फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनले जानकारी दिए ।
बरामद लागूऔषध भारतबाट तस्करी गरी ल्याउने क्रममा सुरक्षाकर्मी देखेपछि तस्करहरूले फालेर भागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएको नाईट्राभेट ट्याब्लेट आवश्यक कानुनी कारबाहीका लागि प्रहरी चौकी इनर्वामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक योञ्जनले जानकारी दिए ।





