वीरगन्जमा गायन रियालिटी शो ‘वीरगन्ज आइडल’ आयोजना हुने


eShilalekh

१९ माघ २०८२, सोमबार १५:४४

वीरगन्जः वीरगन्जमा गायन रियालिटी शो ‘वीरगन्ज आइडल’ आयोजना हुने भएको छ । नेक्स्ट जेनेरेसन ईभेन्ट प्रालिले यस प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

यसअघि दुई सिजन ’वीरगन्ज स्कुल आइडल’ सफलतापूर्वक सम्पन्न गरिसकेको आयोजकले यसपटक भने सबैका लागि खुला प्रतिस्पर्धा को रूपमा यो कार्यक्रम आयोजना गर्न लागेको हो ।

आइतबार वीरगन्जमा आयोजित एक पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको औपचारिक घोषणा गर्दै विजेताले प्राप्त गर्ने ट्रफी समेत सार्वजनिक गरिएको छ ।

प्रतियोगिताको मुख्य उद्देश्य वीरगन्ज तथा यस आसपासका क्षेत्रमा लुकेर रहेका गायन प्रतिभाहरूलाई पहिचान गरी राष्ट्रिय स्तरसम्म पुर्याउनु रहेको आयोजकले जनाएका छन् ।

निर्णायक मण्डलका सदस्य सद्दाम हुसेनका अनुसार १५ वर्षभन्दा माथिका सबै उमेर समूहका व्यक्तिहरूले यस प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् ।

कार्यक्रमको प्रारम्भिक अडिसन आगामी फागुन २ गतेदेखि सुरु हुनेछ । अडिसनदेखि फाइनलसम्मका सबै चरणहरू वीरगन्जको आदर्शनगरस्थित त्रिशला रेस्टुरेन्टमा सञ्चालन गरिनेछन् ।

प्रतियोगितामा निर्णायकको भूमिका हरिरत्न तुलाधर, अशोक प्रधान, सद्दाम हुसेन र प्रभात यादवले निर्वाह गर्नेछन् भने कार्यक्रमको प्रस्तोताका रूपमा पत्रकार सूर्य शुभचिन्तक रहनेछन् ।

प्रतियोगिताका विजेतालाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्रका साथै कभर म्युजिक भिडियोमा स्वर दिने विशेष अवसर प्रदान गरिनेछ ।

माई टेलिभिजनबाट प्रसारण हुने यस कार्यक्रमका लागि आयोजकले गायन क्षेत्रमा रुचि राख्ने सम्पूर्ण इच्छुक प्रतिभाहरूलाई सहभागिताका लागि आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्