थानीमाई सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा अधिकारीलाई निरन्तरता

सिमराः जीतपुरसिमरा १ स्थित थानीमाई सामुदायिक वन उपभोक्ता समूहको २०औं साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । समूहले संचालन गरेको सिमरास्थित पार्कमा साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले आगामी कार्यकालका लागि गोविन्द अधिकारी (विनोद) लाई पुनः अध्यक्षमा निरन्तरता दिएको छ । समितिको उपाध्यक्षमा अम्बिका घिमिरे, सचिवमा शारदा रिजाल, सहसचिवमा सिर्जना रिमाल र कोषाध्यक्षमा श्याम सुवेदीलाई चयन गरिएको छ ।
अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष पुरानै पदाधिकारी हुन् भने सचिव र सहसचिव नयाँ अनुहार हुन् । १७ सदस्यीय कार्यसमितिमा पाँच जना पदाधिकारी अधिवेशनले चयन गर्नेछ भने ११ जना समूहको टोल कमिटीले र एक जना वडा कार्यालयले चयन गरी पठाउनेछ ।
यसअघि कार्यक्रमको उद्घाटन समारोहमा डिभिजन वन कार्यालय बाराका प्रमुख राजिवकुमार झा, सब डिभिजन वन कार्यालय पथलैयाका डिभिजन अधिकृत बिमलकुमार ठाकुर, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, संस्थाका पूर्वअध्यक्ष माधव त्रिपाठी, संस्थापक अध्यक्ष नारायण पण्डितलगायतले मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न साधारणसभाको उद्घाटन कार्यक्रममा जीतपुरसिमरा २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडा सदस्य, राधाकृष्ण मध्यवर्ती वन उपभोक्ता समूहका अध्यक्ष सत्य श्रेष्ठलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण रञ्जना खतिवडाले गरेकी थिईन् ।
थानीमाई वन समूह यस क्षेत्रकै ठूलो वन समूहमध्येको एक हो । यस संस्थाले सिमरामा संचालन गरेको सिमरा पार्क पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ ।





