निर्वाचन आयोगद्वारा प्रतिनिधिसभा चुनावका लागि आचारसंहिता स्वीकृत


eShilalekh

१३ पुष २०८२, आईतवार १८:४३

सिमराः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता स्वीकृत गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सरोकारवालाको सुझावका आधारमा आचारसंहिता स्वीकृत गरिएको हो।

आचारसंहिता लागू हुने मिति केही दिनभित्र सार्वजनिक गरिने भट्टराईले जानकारी दिए। आचारसंहिता सबै पक्षले पालना गरी निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने आयोगको भनाइ छ।

आचारसंहिताअनुसार राजनीतिक दलले प्रचारप्रसारका लागि दुईजना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्नेछ। आयोगबाट अनुमति प्राप्त मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बन्दसूचीका उम्मेदवारको संख्याका आधारमा दलहरूले खर्चको सीमा पालना गर्नुपर्ने उल्लेख गरिएको छ। साथै दल उम्मेदवार तथा पार्टीका नेताकार्यकर्ताले विदेशी नम्बर प्लेटका सवारी साधन प्रयोग गर्न नपाउने, एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी अर्को दल वा उम्मेदवारले प्रयोग गर्न नपाउने व्यवस्था पनि आचारसंहितामा समेटिएको छ।

आचारसंहिताले सामाजिक सञ्जालको नियमनलाई प्राथमिकता दिएको छ। निर्वाचनलाई प्रतिकूल असर पर्ने गरी पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न, गलत, भ्रामक वा झुटा सूचना प्रवाह गर्न, फेक अकाउन्ट सञ्चालन गर्न तथा चरित्रहत्या हुने सामग्री पोस्ट वा सेयर गर्न निषेध गरिएको छ।

उम्मेदवारले आफ्नो आधिकारिक पेजमार्फत मात्र सिद्धान्त र कार्ययोजना सार्वजनिक गर्न पाउनेछन्। दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, झोला, टिसर्ट, ज्याकेटजस्ता साङ्केतिक सामग्री प्रयोगमा रोक लगाइएको छ।

जुलुस, आमसभा तथा बैठक सभ्य र अनुशासित ढंगले गर्नुपर्नेछ। सवारी साधन प्रयोग गर्दा निर्वाचन अधिकृतको अनुमति लिनुपर्ने र तोकिएको आकारका झण्डा तथा चिह्न मात्र प्रयोग गर्न भनिएको छ।

यसैबीच आयोगले राष्ट्रियसभा निर्वाचनको सुरक्षा तयारीबारे सुरक्षा निकायसँग जानकारी लिएको छ। आइतबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा निर्वाचन सुरक्षासम्बन्धी विषयमा छलफल भएको थियो।

आचारसंहिता कार्यान्वयनका लागि जिल्लादेखि केन्द्रसम्म अनुगमन संयन्त्र बनाइने र उल्लंघन गर्नेहरूलाई सचेत गराउने, जरिवाना गर्ने तथा आवश्यक परे उम्मेदवारी रद्द गर्नेसम्मको व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्