मधेश सरकारले पायो पूर्णता, ६ मन्त्री थपिए

सिमराः मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले चार वटा दलबाट थप ६ जना मन्त्री नियुक्त गरेसँगै प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। मुख्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ।
मुख्यमन्त्री यादवले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट दुई–दुई जना तथा जनमत पार्टी र नेकपा माओवादी केन्द्रबाट एक–एक जना मन्त्री नियुक्त गरेका हुन्।
नेपाली कांग्रेसबाट शंकर चौधरी र श्यामप्रसाद पटेल मन्त्री बनेका छन्। चौधरीलाई वन तथा वातावरण मन्त्रालय र पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। दुवै जना पर्सा जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। चौधरी पर्सा क्षेत्र नं. ४ (१) बाट दोस्रो पटक निर्वाचित भएका हुन् भने पटेल पर्सा क्षेत्र नं. २ (१) बाट पहिलो पटक निर्वाचित भएका थिए।
जसपा नेपालका राजकुमार गुप्तालाई भौतिक पूर्वाधार विकास मन्त्रालय र मनिषकुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसैगरी जनमत पार्टीबाट वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्री बनेका छन् भने नेकपा माओवादी केन्द्रबाट फकिरा महतो गृह, सञ्चार तथा कानुन मन्त्री नियुक्त भएका छन्।
नवनियुक्त मन्त्रीहरूले आज प्रदेश प्रमुख डा. सुरेन्द्र लाभसँग पद तथा गोपनीयताको शपथ लिएका छन्।
मुख्यमन्त्री यादव मंसिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेताका रूपमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनले मंसिर २१ गते पद तथा गोपनीयताको शपथ लिँदै सोही दिन तीन जना मन्त्री नियुक्त गरेका थिए, जसमध्ये दुई जना बिना विभागीय थिए। त्यसपछि दोस्रो पटक मंसिर २९ गते मन्त्रिपरिषद् विस्तार गर्दै थप दुई जना मन्त्री नियुक्त गर्नुका साथै बिना विभागीय मन्त्रीहरूलाई पनि मन्त्रालयको जिम्मेवारी तोकेका थिए।





