बारामा लागूऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ


eShilalekh

५ आश्विन २०८३, सोमबार २१:२४

सिमराः बारा प्रहरीले विश्रामपुर गाउँपालिका-४ बलिरामपुरबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य, मोतिहारी जिल्लास्थित नकरदेही पंचायत-२ बिर्ताटोलका ४० वर्षीय दुखी साह रहेका छन्।

इलाका प्रहरी कार्यालय प्रसौनी र प्रहरी चौकी मुसहर्वाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका साहलाई रोकेर जाँच गरेको थियो। जाँचका क्रममा प्रहरीले उनको साइकलको सिटमुनि लुकाएर राखिएको अवस्थामा प्लास्टिकसहित ७.३५ ग्राम ब्राउनसुगर बरामद गरेको हो।

पक्राउ परेका साहविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्