सिरहामा अत्यधिक चिसोका कारण एक वृद्धको मृत्यु


eShilalekh

१६ पुष २०८२, बुधबार १६:१६

सिरहा: अत्यधिक चिसो र शीतलहरका कारण सिरहामा बुधबार बिहान एक वृद्धको मृत्यु भएको छ।

गोलबजार नगरपालिका ८ का ६० वर्षीय शिवदयाल सदायको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हो। लामो समयदेखि मधुमेह र दम रोगबाट पीडित सदायको आफ्नै घरमा मृत्यु भएको उनकी श्रीमती फेकनी देवी सदायले जानकारी दिइन्।

विपन्न परिवारका सदायको घरमा न्यानो कपडा तथा जाडो छल्ने उचित व्यवस्था नहुँदा चिसो सहन नसकेर ज्यान गएको वडा सदस्य तनुकलाल महतोले बताए।

आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका सदायको मृत्युपछि अन्तिम संस्कारका लागि शव जलाउन आवश्यक दाउरा समेत नहुँदा नेपाली सेनाले दाउरा सहयोग गरेको छ।

केही दिनदेखि तराई क्षेत्रमा बाक्लो कुहिरो र चिसो हावाका कारण जनजीवन कष्टकर बन्दै गएको छ। चिसो बढेसँगै विपन्न तथा दलित बस्तीहरूमा न्यानो कपडा र आगो ताप्नका लागि दाउराको अभाव देखिन थालेको छ।

प्रतिक्रिया दिनुहोस्