बारामा विभिन्न मुद्दाका ९ जना फरार प्रतिवादी पक्राउ

सिमरा : बारा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बारा र मातहतका इकाईहरूबाट खटिएको विशेष टोलीले उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुरेश राज भट्टका अनुसार पक्राउ पर्नेहरूमा चोरी, चेक अनादर, लेनदेन विगो र सवारी ज्यान मुद्दाका फरार अभियुक्तहरू रहेका छन्।
प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार चोरी मुद्दामा २० हजार रुपैयाँ जरिवाना तोकिएका जीतपुरसिमरा उपमहानगरपालिका २१ का ४५ वर्षीय विनय कुमार साह कानु र कलैया उपमहानगरपालिका २३ वैराटपुरका २० वर्षीय सुरज पटेल पक्राउ परेका छन्।
यसैगरी, चेक अनादर मुद्दामा पाँच सय रुपैयाँ जरिवाना पाएका जीतपुरसिमरा ९ का ५४ वर्षीय रामाकान्त हजरा दुसाद, वडा नम्बर ७ का ४८ वर्षीय राममिलन प्रसाद कलवार, महागढीमाई नगरपालिका ५ का नन्दकिशोर जयसवाल, राजकिशोर सिंह र वडा नं. १० का तनवीर देवानलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने अन्यमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी जीतपुरसिमरा १९ का ६५ वर्षीय बाबुलाल साह कानु र लेनदेन विगो मुद्दाका प्रतिवादी जीतपुरसिमरा ११ का ४२ वर्षीय चन्द्रदेब चौधरी रहेका छन्।
बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएपछि फरार रहेका उनीहरूलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई आवश्यक कानूनी प्रक्रियाका लागि अदालतमा बुझाइएको छ।






