कांग्रेस एकजुट भएर अघि बढ्नुपर्छ : सहमहामन्त्री मन्सुर

सिमराः नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले पार्टी फुटाएर नभई एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्। केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै मन्सुरले यस्तो बताएका हुन् ।
मन्सुरले नेतृत्वको वैधता महाधिवेशनमार्फत प्राप्त हुने स्पष्ट पार्दै महाधिवेशन फेस नगरी आफूलाई नेता भन्न नमिल्ने बताए। ‘महाधिवेशन गरौं, जसले सबैभन्दा बढी मत ल्याउँछ उही नेता हो। महाधिवेशन गरेर चुनाव हुन नदिने अनि मै नेता हुँ भन्न मिल्दैन’ मन्सुरले भने।
मन्सुरले महामन्त्री गगन थापालाई सक्षम नेतृत्वका रूपमा अघि सार्नुपर्ने धारणा राख्दै उनको नेतृत्व रोक्न पार्टी फुटको हौवा फैलाएर यथास्थिति कायम राख्ने षड्यन्त्र भइरहेको आरोप लगाए। ‘गतिशील, विचारशील, संगठनमा कौशलता र बुझ्न तथा लेख्न सक्ने गगन थापाको नेतृत्व रोक्न पार्टी फुटको हौवा देखाइएको छ, यसलाई चिर्नु हाम्रो जिम्मेवारी हो’ मन्सुरले भने।
पार्टीलाई बलियो, लोकप्रिय र चुनावमा स्थापित गर्न विशेष महाधिवेशनको प्रस्ताव ल्याइएको मन्सुरले स्पष्ट पारे।





