सर्लाहीमा ६० किलो गाँजासहित एक जना पक्राउ, भारतीय कार र मोटरसाइकल नियन्त्रणमा


eShilalekh

२१ पुष २०८२, सोमबार १३:१६

सर्लाही: प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका १, जङ्गल टोलबाट सोमबार बिहान ठुलो मात्रामा प्रतिबन्धित लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१, नवलपुरका ३२ वर्षीय नुरहसन साह रहेका छन्। प्रहरीले घटनामा संलग्न एउटा भारतीय नम्बरको कार र एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको टोलीले बिहान करिब ५ बजे डाबरीबाट लालबन्दीतर्फ जाँदै गरेको बीआर ०२ पीबी २२२६ नम्बरको भारतीय कार र बागमती प्रदेश ०६–०२ प १७७० नम्बरको मोटरसाइकललाई रोक्न खोजेको थियो। तर, दुवै सवारीसाधन प्रहरीलाई छल्दै तीव्र गतिमा भागेका थिए।

प्रहरीले पिछा गर्ने क्रममा मोटरसाइकल चालक साहलाई नियन्त्रणमा लिन सफल भयो। प्रारम्भिक सोधपुछका क्रममा साहले भारतीय कारमा गाँजा रहेको बताएका थिए ।

साहको बयानका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले कारको पिछा गरेको थियो। भाग्ने क्रममा उक्त कार लालबन्दी १ स्थित लालबाबु महतोको घरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो भने चालक फरार भएका थिए।

प्रहरीले उक्त कारको सिट पछाडि लुकाइछिपाइ राखिएको अवस्थामा प्लाष्टिकले बेरिएको १५ पोका (६० किलो) गाँजा फेला पारेको छ।

हाल प्रहरीले बरामद गाँजा, कार, मोटरसाइकल र पक्राउ परेका साहलाई नियन्त्रणमा राखी अनुसन्धान अगाडि बढाएको छ।

जिल्ला अदालत सर्लाहीबाट लागूऔषध मुद्दामा आठ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय लालबन्दीले विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्