वीरगन्जको स्थिति साम्य पार्न खोज्दै प्रशासन, दिउँसो १ बजेदेखि निषेधाज्ञा


eShilalekh

२१ पुष २०८२, सोमबार १५:१४

वीरगन्जः जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाका मुख्य तथा संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञा आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सोमबार (आज) दिउँसो १ बजेदेखि अर्को सूचना जारी नभएसम्म उक्त क्षेत्रमा भेला, सभा, जुलुस तथा प्रदर्शन पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ।

प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेधाज्ञा जारी गरिएको जनाएको छ। निषेधाज्ञा लागू हुने क्षेत्रको चार किल्ला पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शङ्कराचार्य गेट तोकिएको छ। उक्त क्षेत्र वीरगन्जको व्यस्त क्षेत्र हो ।

यसअघि हिन्दु धर्म, देवीदेवता, पर्व तथा मन्दिरहरूका विषयमा अभद्र र आपत्तिजनक टिप्पणी गर्ने व्यक्तिहरूमाथि कारबाहीको माग गर्दै बिहानैदेखि जुलुस प्रदर्शन गरिएको थियो। गहवामाई मन्दिर अगाडिबाट सुरु भएको जुलुस माइस्थान, आदर्शनगर हुँदै अलखिया चोकतर्फ अघि बढेको थियो। तर सम्भावित धार्मिक झडपको जोखिमलाई मध्यनजर गर्दै प्रहरीले जुलुसलाई छपकैया क्षेत्रतर्फ जान नदिई घडिअर्वा पोखरीतर्फ मोडेको थियो। जुलुस घडिअर्वा, माइस्थान चोक र घण्टाघर हुँदै जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि पुगेर कोणसभामा परिणत भएको थियो।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच पटकपटक झडप समेत भईरहेको छ । प्रहरीले स्थिति नियन्त्रणमा प्रयास गरिरहेको छ । प्रशासनले निषेधाज्ञा आदेशको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई शान्ति सुव्यवस्था कायम राख्न सहयोग गर्न, अनावश्यक भिडभाड नगर्न र प्रशासनको आदेश पालना गर्न आग्रह गरेको छ। स्थिति सामान्य नहुँदासम्म निषेधाज्ञा कायम रहने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्