दिनभरको प्रदर्शन र झडपपछि वीरगन्जमा कर्फ्यू


eShilalekh

२१ पुष २०८२, सोमबार १९:२५

वीरगन्जः धार्मिक विषयलाई लिएर दुई समुदायबीच बढ्दो तनावका कारण जिल्ला प्रशासन कार्यालयले वीरगन्जमा कर्फ्यू आदेश जारी गरेको छ। दिनभर निषेधाज्ञा लागू हुँदाहुँदै पनि अवस्था पूर्ण रूपमा नियन्त्रणमा नआएपछि कार्यालयले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू लगाएको हो।

प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू जारी गरिएको जनाएको छ। कर्फ्यू लागू हुने क्षेत्रको चार किल्ला पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शङ्कराचार्य गेट तोकिएको छ। उक्त क्षेत्रमा दिउँसो १ बजेदेखि निषेधाज्ञा लगाइएको थियो ।

धनुषा जिल्लाको कमला नगरपालिका ६ सखुवा मरानस्थित मुस्लिम टोलमा रहेको मस्जिदमा तोडफोड गरिएको र पवित्र ग्रन्थ कुरान जलाइएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि त्यसको प्रभाव वीरगन्जमा पनि देखिएको छ। उक्त घटनाको कारण वीरगन्ज दुई दिनदेखि अशान्त छ ।

विरोध तथा सामाजिक सञ्जालमा आएका धार्मिक टिप्पणीहरूलाई लिएर आइतबारदेखि वीरगन्जमा दुई फरक समुदायले प्रदर्शन गर्दै आएका छन् । मस्जिद तोडफोडमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गर्दै मुस्लिम समुदायले आइतबार बिहान वीरगन्जका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए। सोही दिन साँझ हिन्दू समुदायका युवाहरूले पनि हिन्दू धर्मप्रति आपत्तिजनक टिप्पणी गर्नेहरूलाई कारबाहीको माग गर्दै मोटरसाइकल जुलुस निकाले ।

हिन्दू समुदायका युवाहरूले सोमबार बिहान नाराबाजीसहित प्रदर्शन थालेपछि वीरगन्ज ३ छपकैया क्षेत्रमा मुस्लिम समुदायका युवाहरू पनि भेला भएर नाराबाजी गरे । स्थिति तनावपूर्ण बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले दिउँसो १ बजेदेखि वीरगन्ज महानगरको मुख्य तथा संवेदनशील क्षेत्रमा निषेधाज्ञा लागू गरेको थियो।

दिनभरि निषेधाज्ञापछि स्थिति सामान्यतर्फ लैजान र शान्ति सुरक्षा कायम गर्न कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसअघि निषेधाज्ञा उल्लंघन गर्ने दुवै समुदायका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

प्रशासनले कर्फ्यू आदेश उल्लंघन गर्नेलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिँदै सर्वसाधारणलाई घरभित्रै बस्न, अनावश्यक हिँडडुल नगर्न र शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्