विश्रामपुर गाउँपालिकामा आज शोक विदा

सिमरा: विश्रामपुर गाउँपालिकाले मंगलबार (आज) शोक विदा दिएको छ। गाउँपालिकामा कार्यरत अधिवक्ता अजय स्वर्णकारको निधनको शोकमा गाउँपालिकाले शोक विदा दिएको हो ।
गाउँपालिका अध्यक्ष जुल्फकार अली भुटोका अनुसार गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य चौकी कार्यालयहरू (इमरजेन्सी सेवा र बर्थिङ सेन्टर बाहेक) बन्द रहने जनाइएको छ।
गाउँपालिकाद्वारा जारी शोक सूचनामा स्वर्गीय स्वर्णकारलाई शालीन, इमानदार तथा कुशल अधिकृतको रूपमा स्मरण गरिएको छ। उनको निधनले गाउँपालिका परिवार अत्यन्तै मर्माहत भएको उल्लेख गरिएको छ।
गाउँपालिकाले स्वर्गीय स्वर्णकारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै दिवंगत आत्माको चिरशान्तिको कामना समेत गरिएको छ।





