वीरगन्जमा कर्फ्यू हटाइयो, स्थायी सद्भाव संयन्त्र गठन


eShilalekh

२३ पुष २०८२, बुधबार १३:०२

वीरगन्ज: वीरगन्ज र आसपासका क्षेत्रमा स्थानीय प्रशासनले सोमवारदेखि लगाएको कर्फ्यू मंगलवार दिउँसो ३ः३० बजेदेखि हटाइएको छ ।

लामो समयसम्म चलेको सर्वपक्षीय तथा सर्वदलीय बैठकमा सहमति भएपछि कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार मंगलवार बसेको सर्वपक्षीय एवं सर्वदलीय बैठकमा भद्र सहमति कायम भएपछि कर्फ्यू हटाउने निर्णय गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी दाहालले अब सबै नागरिकलाई शान्ति, सद्भाव र कानूनको पालना गर्दै सामान्य जनजीवन सहज बनाउन सहयोग गर्न आग्रह गरेका छन् । सर्वपक्षीय बैठकको सहमति जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सार्वजनिक गरेको छ ।

बैठकले भविष्यमा आपसी सद्भाव कायम राख्न स्थायी सद्भाव संयन्त्र गठन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्