पर्सामा लागूऔषध चरेससहित दुई जना पक्राउ

वीरगन्जः पर्सा प्रहरीले बिहीबार बिहान लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १५ मुर्लीका २० वर्षीय रैयस अली र पोखरिया नगरपालिका ८ जगतपुरका ५५ वर्षीय मुनिलाल पटेल रहेका छन्।
इलाका प्रहरी कार्यालय पोखरिया र अस्थायी प्रहरी पोष्ट बहुअर्वाभट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिन्दवासिनी गाउँपालिका २ अन्तर्गत गर्दोल चोकदेखि पूर्व पोखरिया–वीरगन्ज सडकखण्डमा शंकास्पद व्यक्तिहरूलाई रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा उनीहरूले बोकेको दुईवटा कालो झोलाभित्र पानी खाने १० लिटर क्षमताका ग्यालन फेला परेका थिए। ग्यालनको मुखमा घिउ राखी भित्रतर्फ लुकाएर राखिएको अवस्थामा चरेस फेला परेको पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।
अलीले बोकेको ग्यालनबाट १० किलो ६०० ग्राम र पटेलले बोकेको ग्यालनबाट ११ किलो ४०० ग्राम लागूऔषध चरेस बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट नगद चार हजार चार सय ५० रुपैयाँ र एक थान मोबाइलसमेत बरामद गरिएको छ।
बरामद लागूऔषध चरेससहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





